काठमाडौं महानगरपालिकाले आफ्ना क्षेत्रभित्रका संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि प्रदान गरिने यो छात्रवृत्ति प्रवेश परीक्षा प्रणालीमार्फत चयन गरिने व्यवस्था गरिएको छ।
महानगरपालिकाले आज १८ असारदेखि २७ असारसम्म छात्रवृत्तिको लागि अनलाइन आवेदन दिन सकिने जनाएको छ। आवेदन दिन इच्छुक विद्यार्थीहरूले entrance.kathmandu.gov.np मा गएर सिधै फाराम भर्न सक्नेछन्।
‘क’ को लागि शिक्षा: अनलाइन प्रणाली र निष्पक्ष परीक्षाका आधारमा छात्रवृत्ति
महानगरपालिकाका अनुसार छात्रवृत्तिका लागि प्रवेश परीक्षा ३ साउनमा बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० बहुवैकल्पिक वस्तुगत प्रश्नहरू सोधिनेछन्।
छात्रवृत्ति वितरणको प्रक्रिया विद्यालयअनुसारको कोटा प्रणालीमा आधारित हुनेछ र परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण पछि प्रकाशित गरिने सूचनामा उल्लेख गरिएको छ।
महानगरले विद्यार्थी तथा अभिभावकलाई सूचना पारदर्शी, प्रतिस्पर्धात्मक र अनलाइन प्रणालीमा आधारित बनाउँदै छात्रवृत्तिको पहुँच सबैका लागि सहज बनाउने प्रयास गरेको जनाएको छ।
थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np हेर्न सकिने सूचनामा उल्लेख छ।