स्पेनमा जारी संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलन अन्तर्गत आयोजित एक उच्चस्तरीय साइड इभेन्टमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिँदै खानेपानी र सरसफाइलाई मानव अधिकारको रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ।
नेपाल र बुरुण्डीको सहआयोजनामा आयोजित उक्त कार्यक्रम राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूबीच पानी तथा सरसफाइका लागि वित्तीय स्रोतको प्रवाह सम्बन्धमा केन्द्रित थियो। प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै भन्नुभयो, “खानेपानी र सरसफाइ विकासको लक्ष्य मात्र होइन, यो मानवीय सम्मान र सभ्यताको आधारभूत आधार पनि हो।”
प्रधानमन्त्री ओलीले नेपालको संविधानमा हरेक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइको पहुँच मौलिक हकको रूपमा सुनिश्चित गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट गर्नुभयो।
उहाँले भने, “यो हकको कार्यान्वयन चुनौतीपूर्ण छ, तर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा अनुरूप यो सरकारको प्रतिबद्धता हो।” उहाँले नेपालमा सञ्चालनमा ल्याइएको वास (WASH) अभियानलाई राष्ट्रिय सफलताको उदाहरणको रूपमा प्रस्तुत गर्नुभयो।
विश्वभर अर्बौँ मानिस अझै पनि सुरक्षित पानी र सरसफाइबाट वञ्चित रहेको उल्लेख गर्दै उहाँले सबै राष्ट्रहरूको साझा प्रयासले मात्र यो समस्या समाधान गर्न सकिने धारणा राख्नुभयो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक वित्तीय स्रोतहरूको परिचालन, सहकार्य र दीर्घकालीन योजनाका माध्यमबाट विश्वलाई स्वच्छ बनाउने सम्भावना रहेको स्पष्ट गर्नुभयो।