नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टीका नेताहरूले मिडिया र सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्तिहरूको व्यक्तिगत र राजनीतिक रूपमा प्रतिवाद गर्ने चेतावनी दिएकी छन्।
पार्टी अध्यक्ष माधव नेपाल विरुद्ध अभिव्यक्ति दिएको आरोपमा राजेन्द्र पाण्डे, सोमप्रसाद पाण्डेलगायत नेताहरूले झाँक्रीमाथि कारबाहीको माग गरेका थिए। सोही सन्दर्भमा पार्टी सचिवालय बैठकमा जवाफ दिन पुगेकी झाँक्रीले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै भनिन्, “पार्टीका शक्तिशाली नेताहरू मिडिया र सोसल मिडियामार्फत जे बोले पनि म त्यसको प्रतिवाद गर्छु। व्यक्तिगत हिसाबले लडाइँ पनि लड्छु।”
झाँक्रीले आफूमाथि आएका आरोपहरूबारे बैठकमै स्पष्टिकरण दिने बताउँदै, पार्टीको निर्देशन अनुसार बाह्य रूपमा प्रतिक्रिया नदिएको तर नेताहरूले अनावश्यक रूपमा व्यक्तिगत आलोचना गरेकाे आरोप लगाइन्।
उनको भनाइ, “मैले बैठकबाहिर केही भनेको छैन। तर नेताहरू लगातार ममाथि बोलिरहनुभएको छ। त्यसको जवाफ म राजनीतिक ढंगले त दिन्छु नै, व्यक्तिगत रुपमा पनि चुप लाग्दिन।”
झाँक्री र नेताहरूबीचको यो वाकयुद्धले पार्टीभित्रको असहमति र आन्तरिक संघर्ष सार्वजनिक रूप लिन थालेको संकेत दिएको छ।
पार्टीले अहिलेसम्म झाँक्रीविरुद्ध औपचारिक निर्णय नगरे पनि आगामी बैठकहरूमा यसबारे थप बहस हुने अपेक्षा गरिएको छ।