काठमाडौं — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले पार्टीभित्रको नीति, सदस्यता प्रणाली, अनुशासन र आन्तरिक बहसको गुणस्तरबारे गहिरो असन्तुष्टि व्यक्त गरेकी छन्। जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भोट हाल्न नपाउने व्यक्तिलाई क्रियाशील सदस्य बनाउनुको औचित्यमाथि प्रश्न उठाएकी छन्।
गुरुङको प्रश्न थियो, “३६५ दिनमध्ये भोट हाल्ने एक दिन पनि हाल्न नपाउने हो भने किन चाहियो कांग्रेसको सदस्यता? मलामी जान मात्रै चाहिएको हो?” उनले सभापति शेरबहादुर देउवालाई सोध्दै पार्टीभित्र नीति स्पष्ट, निष्पक्ष र न्यायपूर्ण हुनुपर्नेमा जोड दिइन्।
नेतृत्वको शैली र आन्तरिक बहसप्रति आलोचना
गुरुङले केन्द्रीय समिति बैठकमा नेताहरू व्यक्तिगत आरोपप्रत्यारोपमा लिप्त भएको भन्दै गम्भीर आपत्ति जनाइन्। “कांग्रेसको बैठक देशभित्र मात्र होइन, विदेशमा रहेका कार्यकर्ताले पनि हेरिरहेका छन्। एजेन्डामाथि होइन, व्यक्तिविशेषमाथि आरोप लगाएर के सन्देश जान्छ?” उनले प्रश्न गरिन्।
पार्टीको संरचनागत कमजोरीमाथि इंगित गर्दै उनले चितवनजस्तो जिल्लामा १३ हजार क्रियाशील सदस्य रहे पनि भोट १० हजार मात्र खस्ने अवस्थालाई गम्भीर समस्या भनेकी छन्। “केका लागि यस्तो क्रियाशील सदस्यता कायम राख्ने? यस्तो खालको सदस्यता कांग्रेसले अब धान्न सक्दैन,” उनले भनिन्।
सदस्यता नवीकरण र अनुशासन समितिमाथि प्रश्न
गुरुङले शिक्षक संघ र कर्मचारी वर्गले सदस्यता नवीकरण नगरेको उल्लेख गर्दै यसको समाधानका लागि पार्टीले स्पष्ट नीति लिनुपर्ने धारणा राखिन्। “सदस्यता नवीकरण जस्तो साधारण कार्यसमेत हुन छोडेको छ। यो गम्भीर विषय हो,” उनले स्पष्ट पारिन्।
त्यस्तै, उनले अनुशासन समितिको कामकारबाहीप्रति पनि असन्तुष्टि जनाउँदै यसको प्रभावकारिता र निष्पक्षतामा प्रश्न उठाइन्।
गठबन्धनको भविष्य र पार्टीको आत्मचिन्तन आवश्यक
सीता गुरुङले सधैँ अन्य दलसँग गठबन्धन गरेर निर्वाचनमा जानु पार्टीको दीर्घकालीन हितमा नपर्ने भन्दै रणनीतिक आत्ममूल्याङ्कनको खाँचो औंल्याइन्। “आजको गठबन्धन भोलिका लागि भारी नबनोस् भन्ने सोच राख्नुपर्छ,” भन्दै उनले कांग्रेसको स्वतन्त्र अस्तित्व र आधार सुदृढ पार्नुपर्नेमा जोड दिइन्।
गुरुङको धारणा पार्टीभित्रको असन्तुष्टि र पुनर्संरचनाको मागको संकेतस्वरूप लिइएको छ। नेपाली कांग्रेसभित्र बढ्दो असन्तुलन, निष्क्रिय सदस्यता र अस्थायी गठबन्धनप्रति उनीजस्ता नेताहरूले सार्वजनिकरूपमा आवाज उठाउन थालेका छन्।