काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले परम्परागत बाजा र संगीतलाई अमूर्त सांस्कृतिक सम्पदाको अभिन्न अंग भन्दै यसको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने बताएकी छन्। शुक्रबार काठमाडौं महानगरपालिकाद्वारा आयोजित परम्परागत टोल, गुथी र खलःलाई अनुदान हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बाजा केवल लय नभई सम्पूर्ण समुदायको आवाज भएको स्पष्ट पारिन्।
उपप्रमुख डङ्गोलले मूर्त र अमूर्त सम्पदाको उदाहरण दिँदै बाजा, संस्कृति, भाषा, रीतिरिवाज लगायतका तत्वहरूलाई सामाजिक आत्मा जस्तै रहेको उल्लेख गरिन्। “मूर्त सम्पदा हाम्रा शरीर हुन् भने, अमूर्त सम्पदाले ती सम्पदामा आत्मा भर्छ,” उनले भनिन्।
डङ्गोलले विशेष गरी नेवार समुदायमा बाजाको विशेष महत्व रहेको बताउँदै भनिन्, “सामाजिक, सांस्कृतिक, धार्मिक वा राजनीतिक कार्यक्रम– जुनसुकै अवसरमा पनि बाजाहरु हाम्रा आवाज हुन्। जबसम्म बाजा बज्छ, तबसम्म हाम्रो आवाज रहन्छ।”
उनले बाजा, पर्व, जात्रा र सामुदायिक परम्पराहरूले काठमाडौंको सांस्कृतिक पहिचान निर्माणमा ठूलाे भूमिका खेलेको बताइन्। पुस्तौं पुस्ताबाट आएका सीप, ज्ञान र संस्कारलाई संरक्षित राख्न अमूर्त सम्पदाको महत्व थप बढेको पनि उनले उल्लेख गरिन्।
महानगरपालिका भित्र रहेका टोल, गुथी, खलःहरूलाई आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराएर संस्कृतिको निरन्तरताका लागि सहकार्य गरिने डङ्गोलको भनाइ थियो।
कार्यक्रममा सहभागी टोल र गुथी प्रतिनिधिहरूले सांस्कृतिक कार्यक्रम, जात्रा व्यवस्थापन, स्थानीय पर्व संरक्षण र प्रशिक्षण कार्यक्रमका लागि प्राप्त अनुदानलाई समुदायको हितमा सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उपप्रमुख डङ्गोलले भनिन्, “आज हामी सम्पदाको संरक्षणमा केवल संरचना होइन, आत्मा जोगाउने प्रयत्न गरिरहेका छौं। यसका लागि समुदाय आफै सक्रिय र सचेत हुनु अत्यन्त आवश्यक छ।”