युक्रेनको राजधानी किएभमा रूसी सेनाले शुक्रबार बिहान गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। युक्रेनी अधिकारीका अनुसार रूसले ५३९ ड्रोन र ११ वटा मिसाइल प्रयोग गरेको थियो।
यस प्रहारलाई हालै अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्तालापसँग जोडेर हेरिएको छ। वार्तापछि ट्रम्पले पुटिन युद्ध अन्त्य गर्न गम्भीर नभएकोमा निराशा व्यक्त गरेका थिए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभमाथिको आक्रमणको कडा निन्दा गर्दै रुसले फेरि युद्ध समाप्त पार्ने कुनै इच्छाशक्ति नराखेको पुष्टि गरेको बताएका छन्। बीबीसीका अनुसार उनले भने, “रुसले फेरि एकपटक युद्ध अन्त्य गर्न नचाहेको देखाएको छ।”
जेलेन्स्कीले युक्रेनका अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरूलाई विशेष रूपमा अमेरिकालाई आह्वान गर्दै रुसमाथि थप कडा प्रतिबन्ध लगाउन अपिल गरेका छन्। उनले उल्लेख गरे, “यो आक्रमणले देखाएको छ कि रुस केवल सैनिक होइन, मानवताविरुद्ध पनि युद्ध गर्दैछ।”
किएभमा भएको आक्रमण एक पक्षीय मात्रै नभई युक्रेनमा पुनः तनाव र अस्थिरताको संकेतसमेत हो। बेलायती समाचार संस्था बीबीसीका अनुसार आक्रमणले नागरिक आवासीय क्षेत्रहरूलाई निशाना बनाएको थियो, जसले मानवीय संकट गहिरिएको देखिन्छ।
युक्रेन–रुस युद्ध हालसम्म पनि निर्णायक चरणमा पुग्न सकेको छैन। पुटिन प्रशासनले आफ्नो रणनीतिक उद्देश्य नपुन्जेल आक्रमण जारी रहने बताएको छ। अन्तर्राष्ट्रिय समुदायले भने युद्ध तुरुन्त अन्त्य गरी संवाद र कूटनीतिक समाधानको बाटो रोज्न आग्रह गर्दै आएको छ।