नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. गिरिजाप्रसाद कोइरालासँगको पुरानो राजनीतिक सम्बन्ध र उतारचढावको स्मरण गरेका छन्। शनिबार जय नेपाल फाउन्डेशनको कार्यक्रममा सम्बोधन गर्दै देउवाले कोइराला र राजा ज्ञानेन्द्रसँगको अनुभवलाई आत्मीय र सजीव शैलीमा प्रस्तुत गरे।
देउवाले बताए अनुसार, पार्टीभित्रको विवादका कारण कोइरालाले उनलाई पार्टीबाट निष्काशन गरे भने तत्कालीन राजा ज्ञानेन्द्र शाहले उनलाई प्रधानमन्त्री पदबाट हटाए। त्यसप्रति प्रतिक्रिया दिँदै उनले त्यो समय गिरिजाबाबु र ज्ञानेन्द्रलाई “एउटै हुन्” भनेको स्वीकार गरे।
देउवाले भने, “स्वर्गीय गिरिजाबाबु र मेरो झगडा भएको सबैलाई थाहा छ। उहाँले मलाई पार्टीबाट निकाल्नु भयो, मैले नयाँ पार्टी खोलेँ। अनि त्यसपछि मैले के भनेको थिएँ भने, एकले पार्टीबाट निकाल्यो, अर्काले प्रधानमन्त्रीबाट – दुवै एउटै हुन् भनेको थिएँ।”
उनले जेल परेका दिनहरूको पनि स्मरण गरे। “राजाले मलाई शाही आयोगमार्फत जेल हाल्नुभयो। मैले मानिनँ। पछि जब छुटेँ, गिरिजाबाबु आफैले मिल्नुपर्छ भन्नुभयो। अनि हामी फेरि एक भयौं,” देउवाले भने।
गिरिजाको योगदानप्रति सम्मान
देउवाले स्व. कोइरालाको साहस र लोकतन्त्रप्रतिको प्रतिबद्धता प्रशंसा गर्दै भने, “गणतन्त्र ल्याउने सच्चा नेता भन्नु छ भने, त्यो गिरिजाबाबु नै हुनुहुन्छ।” उनले कोइरालाको हिम्मत, राजनीतिक नेतृत्व र राष्ट्रिय संकटमा खेलेको भूमिकालाई ऐतिहासिक उल्लेख गरे।
यो आत्मस्वीकृति तथा ऐतिहासिक स्मरणले नेपाली कांग्रेसभित्रको पुरानो द्वन्द्व, दलभित्रको विभाजन र लोकतान्त्रिक आन्दोलनको कथालाई नयाँ प्रकाशमा ल्याएको छ। देउवाको यो भनाइले राजनीतिमा सहकार्य र आपसी समर्पणको शक्ति पनि स्मरण गराएको छ।