प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सम्पन्न स्पेन भ्रमणलाई सफल र कूटनीतिक दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा स्पेन भ्रमणबारे जानकारी दिंदै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता सफल भएको बताए।
स्पेनको सेभियामा सम्पन्न ‘विकासका लागि वित्त’ विषयक सम्मेलनमा नेपालको उपस्थितिले अन्तर्राष्ट्रिय छवि मजबुत बनाएको उनको दाबी छ।
प्रधानमन्त्री ओलीले सम्मेलनमा जलवायु परिवर्तन, खाद्य सुरक्षा, दिगो विकास र वित्तीय स्रोत परिचालन सम्बन्धमा नेपालका पक्ष राखिएको बताए। उनले नेपालको खानेपानी, सरसफाइमा उल्लेखनीय प्रगति, जलवायु परिवर्तनबाट उत्पन्न चुनौती र विकासशील राष्ट्रको आवाजलाई सम्मेलनमा पुऱ्याएको उल्लेख गरे।
“नेपाल वित्तीय स्रोत परिचालन अभियानमा सक्रिय छ, सम्मेलनमा नेपालको योगदान र प्रयासका विषयमा जानकारी गराएँ,” प्रधानमन्त्री ओलीको भनाइ थियो।
अन्तर्राष्ट्रिय सम्बन्ध र लगानीको सन्देश
सम्मेलनमा करिब ५० राष्ट्रका प्रमुखहरूको सहभागिता रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको प्रतिनिधित्व नेतृत्वदायी भएको बताए। उनले विभिन्न मुलुकका राष्ट्र प्रमुखसँग बहुपक्षीय विषयमा छलफल गरिएको जानकारी दिए।
“नेपालमा लगानीको वातावरण उपयुक्त छ, सम्मेलनमा लगानीका लागि समेत आह्वान गरियो,” उनले संसदलाई जानकारी गराए।
प्रधानमन्त्री ओलीको स्पेन भ्रमणले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा जिम्मेवार र सशक्त राष्ट्रको छवि प्रस्तुत गर्न सफल भएको देखिन्छ। जलवायु संकट, वित्तीय स्रोत, र विकास एजेन्डामा नेपालको सक्रिय सहभागिताले ग्लोबल नेतृत्व क्षमताको संकेत दिएको छ।

