राष्ट्रपति डोनाल्ड ट्रम्पले BRICS समूहको नीतिलाई “अमेरिकाविरोधी” भन्दै त्यसमा सहभागी वा झुकाव देखाउने मुलुकहरूमाथि १० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने चेतावनी दिएका छन्। ट्रम्पको चेतावनी आइतबार ब्राजिलको रियोमा सुरु भएको BRICS सम्मेलनको बीचमा आएको हो।
Truth Social मा पोस्ट गर्दै ट्रम्पले भने,
| “BRICS सँग आफुलाई जोड्ने कुनै पनि राष्ट्रले अमेरिकाविरोधी नीति अपनाएमा त्यसमाथि १०% अतिरिक्त ट्यारिफ लागु हुनेछ। कुनै पनि अपवाद हुने छैन।”
ट्रम्पले उक्त नीतिमा “अमेरिकाविरोधी” भन्ने अभिव्यक्तिबारे विस्तृत व्याख्या भने दिएका छैनन्।
ट्रम्पको यो चेतावनी BRICS को बढ्दो प्रभाव र अमेरिकी नेतृत्वको कमजोरोपनबीचको शक्ति सन्तुलनको प्रतिक्रिया हो भन्ने विश्लेषणकर्ता बताउँछन्। सम्मेलनमा सहभागी नेताहरूले एक संयुक्त वक्तव्यमा “भन्सार शुल्कको वृद्धिले वैश्विक व्यापारलाई खतरा पुर्याइरहेको” चेतावनी दिँदै अप्रत्यक्ष रूपमा ट्रम्पको नीति आलोचना गरेका थिए।
BRICS विस्तार र लक्ष्य
२००९ मा ब्राजिल, रूस, भारत, चीन मिलेर सुरु भएको BRICS पछि दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, युएई लगायत राष्ट्र थपिएका छन्। हालसम्म ३० भन्दा बढी राष्ट्रले सदस्य वा साझेदार बन्ने इच्छा देखाएका छन्।
BRICS राष्ट्रहरूले संयुक्त राष्ट्र संघ, विश्व बैंक, IMF जस्ता विश्वव्यापी संस्थाहरूमा सुधारको माग गर्दै विकसित राष्ट्रहरूको प्रभुत्व तोड्न एकताको सन्देश दिएका छन्।
अमेरिका र BRICS : नीति द्वन्द्व
ट्रम्पले BRICS समूहसँग नजिकिन खोज्ने मुलुकहरूमाथि व्यापारिक नाकाबन्दीजस्तो नीतिगत दबाब दिने रणनीति अपनाएका छन्। यता BRICS समूहले क्लाइमेट चेंज, एआई नियमन, विश्व व्यापार संगठनमा सदस्यता विस्तार, क्षेत्रीय शान्ति जस्ता विषयमा एकीकृत धारणा सार्वजनिक गरेको छ।
ब्राजिलका राष्ट्रपति लुइज इनेसियो लुला डा सिल्भाले BRICS लाई “Non-Aligned Movement” को उत्तराधिकारी भनेका छन्।
ट्रम्पको नयाँ ट्यारिफ चेतावनीले अमेरिका र उदाउँदो शक्ति समूह BRICS बीचको तनाव अझ चर्किएको छ। BRICS को बहुपक्षीय कूटनीतिक अग्रसरता र ट्रम्पको एकपक्षीय चेतावनीबीच अब विश्व व्यापार र राजनैतिक सन्तुलन कसरी अघि बढ्छ भन्ने कुराले निकट भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धमा ठूलो प्रभाव पार्नेछ।

