देशभर वर्षा र बाढीजन्य घटनाबाट बढ्दो क्षतिपछि गृहमन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएको छ। रसुवालगायत विभिन्न जिल्लामा जनधनको क्षति भएपछि गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मन्त्रालयमा बैठक डाकिएको हो।
भोटेकोसी नदीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ भने नागरिकहरू सम्पर्कविहीन भएका छन्। यही सन्दर्भमा उद्धार, खोज, राहत तथा पुनःस्थापनाका रणनीति तय गर्न आजको बैठक महत्वपूर्ण ठानिएको छ।
गृह मन्त्रालयका अनुसार, आज बिहानै त्रिशूली नदीमा आएको बाढीमा फसेका दुईजनाको नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ। उक्त घटना नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित क्षेत्रमा भएको हो।
सरकारले हालैको बाढी, पहिरो र डुबानबाट उत्पन्न संकटलाई प्राथमिकताका साथ लिंदै केन्द्रीय सुरक्षातन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, र प्रशासनिक संयन्त्र परिचालन गरिरहेको छ।
बैठकमा जिल्लागत क्षति विवरण, तात्कालिक राहत आवश्यकताको मूल्याङ्कन, र पूर्व तयारीका उपायहरूमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

