प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा भएको भीषण वर्षाका कारण रसुवा लगायतका क्षेत्रहरूमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार कार्य सरकार युद्धस्तरमा अघि बढाइरहेको बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न निर्देशन दिइएको जानकारी गराए।
| “यस दुःखद घडीमा अत्यावश्यकबाहेकका कार्यक्रमहरू स्थगित गरेर उद्धार कार्यमा सुरक्षा निकायहरूसँग नियमित सम्पर्कमा छु,” — प्रधानमन्त्री ओली
उहाँले बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहायता पुर्याउन सरकारबीच समन्वय तीव्र पारिएको र सुरक्षा निकायहरू उद्धारमा खटिइरहेको जानकारी दिनुभयो। उद्धारमा सरकारी निकायका प्रयास सफल होस् भन्दै सर्वसाधारण, स्थानीय तह र सामाजिक संघसंस्थाको समेत सहकार्य अपेक्षा गरिएको उहाँले उल्लेख गर्नुभयो।
प्रधानमन्त्री ओलीले बाढीका कारण केही नागरिकले ज्यान गुमाएको र केही अझै बेपत्ता भएको खबरले आफू अत्यन्त दुःखी भएको बताउँदै, मृतकप्रति श्रद्धाञ्जलि अर्पण र पीडित परिवारप्रति सहानुभूति प्रकट गर्नुभयो।
सरकारले उद्धार, राहत तथा पुनःस्थापना कार्यमा तत्काल र प्रभावकारी हस्तक्षेप गर्ने संकेत दिएको छ। बाढी प्रभावित क्षेत्रमा स्थितिका आधारमा अतिआवश्यक कार्यक्रमहरु स्थगन गरी विपद् व्यवस्थापनमा प्राथमिकता दिइएको छ।

