राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद्को बैठक बहिष्कार गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयको भूमिकामाथि प्रश्न उठाउँदै आएका दुई दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन्।
सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरे पनि रास्वपाले उक्त समितिप्रति अविश्वास जनाउँदै त्यसलाई स्वीकार गरेको छैन।
संघीय निजामती विधेयकबारे पनि छानबिनको माग
साथै, रास्वपाले हालै संघीय निजामती सेवासम्बन्धी विधेयक पारित गर्ने क्रममा प्रक्रियागत त्रुटि र गम्भीर गडबडी भएको भन्दै छानबिनको माग समेत अघि सारेको छ।
राप्रपा र रास्वपाले सरकारका पछिल्ला गतिविधिहरू अविवेकी र अपारदर्शी भएको आरोप लगाउँदै संसद् बैठकमा सहभागी नहुने रणनीति लिएका छन्।

