राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन भ्रमणमा गएका केही व्यक्ति नफर्किएको दाबीप्रति नेकपा एमालेले कडा आपत्ति जनाएको छ भने नेकपा माओवादी केन्द्रले सो विषयमा सरकार आफैंले जवाफ दिनुपर्ने बताएको छ।
संसद बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले सांसद गौतमले प्रधानमन्त्रीलाई लक्षित गरी कपोकल्पित र भ्रामक आरोप लगाएको आरोप लगाउँदै उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरे।
उनले गौतमलाई चुनौती दिँदै भने, “कोही नफर्केको प्रमाण छ भने संसदमै पेस गर्नुहोस्, नत्र भ्रामक प्रचार बन्द गर्नुहोस्।”
माओवादीको चेतावनी : “सदनमा उठेको प्रश्न मन्त्रीले जवाफ दिनुपर्छ”
एमालेको मागपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि अभिव्यक्तिमा असन्तुष्टि जनाउँदै भने, “सांसदहरूले प्रश्न उठाउँदा त्यसको जवाफ मन्त्री वा प्रधानमन्त्री स्वयंले दिनुपर्छ, सांसदहरूकै जवाफ आउनु संसदीय मर्यादाविपरीत हो।”
उनले स्पष्ट शब्दमा भने, “सदनलाई सांसदहरूले नै हेराफेरी गर्नु गम्भीर विषय हो। जवाफ सरकारको हो।”
के भनिन् सांसद गौतमले?
सांसद गौतमले मंगलबारको संसद बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमणमा सहभागी केही व्यक्ति नेपाल नफर्किएको भन्ने समाचारहरू आएको दाबी गर्दै उक्त विषय गम्भीर भएको बताएकी थिइन्। साथै, उनले भिजिट भिसा प्रकरणमा पनि उच्चस्तरीय छानबिन आयोग गठनको माग दोहोर्याएकी थिइन्।
सांसद गौतमको अभिव्यक्तिले संसदमा नयाँ विवाद सिर्जना गरेको छ। एमालेले रेकर्डबाट हटाउन माग गर्दा माओवादीले भने त्यसप्रति सरकार स्वयंले जवाफ दिनुपर्ने स्पष्ट पारेको छ। अब यस विषयमा सरकारको औपचारिक जवाफ कस्तो आउनेछ भन्ने प्रतीक्षा गरिँदैछ।

