नेकपा एमालेकी सचेतक तथा सांसद सुनिता बरालले प्रतिनिधिसभामा प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद सोविता गौतमले व्यक्त गरेको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै स्पष्ट प्रतिवाद गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले संसद् “अफवाह फैलाउने” र “गलत टिप्पणी गर्ने” ठाउँ नभएको स्पष्ट पारिन्। उनले भनिन्,
“तथ्यको आधारमा कुरा गरौँ। प्रधानमन्त्री कुनै दल विशेषसँग मात्र सम्बन्धित हुँदैन, उहाँ राष्ट्रको कार्यकारी प्रमुखका रूपमा भ्रमणमा जानुभएको हो।”
गौतमले प्रयोग गरेका शब्द र शैलीप्रति संकेत गर्दै उनले थपिन्,
“तपाईंलाई भाषाको ज्ञान र परिभाषा सिकाउन परे हामी तयार छौँ। तर संसदजस्तो संवेदनशील स्थानमा बोल्दा हेक्का राख्नुस्।”
सुनिता बरालले सांसद गौतमको अभिव्यक्तिपछि उनी सदनबाट बाहिरिएकोप्रति पनि आपत्ति जनाइन्,
“कुरा गरेर सदन छाड्ने अभ्यास संसदीय मर्यादासँग मेल खाँदैन।”
यो अभिव्यक्ति राजनीतिक रूपमा संसदभित्र सत्तारूढ गठबन्धन र रास्वपा बीचको द्वन्द्व झनै चर्किएको संकेत हो। पछिल्ला दिनमा गौतमले प्रधानमन्त्रीको भ्रमण र त्यससँग सम्बन्धित प्रतिनिधिमण्डलका सदस्यहरूको गतिविधिबारे उठाएको विषय संसदमा तातो बहसको विषय बनेको छ।
सुनिता बरालको जवाफले यो बहस अझ गहिरिने संकेत दिँदै प्रशासनिक पारदर्शिता, कूटनीतिक मर्यादा, र सांसदहरूको उत्तरदायित्वबारे सार्वजनिक चासो थप उकास्ने देखिन्छ।

