गृह मन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछानेको भूतपूर्व अमेरिकाको बसाइबारे संसद्मै सार्वजनिक प्रश्न उठाएका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै, उनले लामिछाने अमेरिका जाँदा भिजिट भिसा प्रयोग गरिएको हो वा होइन भन्ने विषयमा स्पष्टता माग गरेका हुन्।
गृहमन्त्री लेखकको भनाइ यस्तो थियो:
“माननीय रवि लामिछाने जी, जो यो सम्मानित सदनका सदस्य हुनुहुन्थ्यो, उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको थियो अरे भन्ने सुनेको थिएँ। उहाँ कुन भिसामा जानुभयो, त्यो जानकारी गराउनुहोला।”
यससँगै उनले नैतिकताको विषयमा रास्वपाका नेताहरूले उठाउने दोहोरो मापदण्डप्रति पनि टिप्पणी गरे।
“भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन मिल्छ? नैतिकता आफूबाट सुरु गर्ने कि अरूलाई मात्र उपदेश दिने?” — गृहमन्त्री लेखक।
गृहमन्त्रीको यस्तो जिज्ञासाले रास्वपाका नेताहरूको विगत र आचरणप्रति प्रश्न उठाउँदै पार्टीभित्र गम्भीर बहस ल्याउने संकेत गरेको छ।
यो अभिव्यक्तिले रास्वपामाथि आन्तरिक रूपमा नैतिकताको दाबी र व्यवहारबीचको द्वन्द्व उजागर गरिदिएको छ भने संसद्मा व्यक्तिगत इतिहासको सार्वजनिक परीक्षणको ढोका पनि खोलिदिएको छ।
अब रास्वपाको औपचारिक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ।

