उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले हिमताल फुटेको आशंका बलियो बनाउँदै गएको छ। मंगलवार साँझ आएको बाढीले तीनवटा पक्की पुलसहित कुल ७ वटा पुलमा गम्भीर क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ।
बुधबार लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिनर्बु गुरुङ नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रको संयुक्त अनुगमन गरेको हो। अनुगमन टोलीमा उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक, वडाध्यक्षहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सहभागी थिए।
पुल र पूर्वाधारमा ठूलो क्षति
गाउँपालिका कार्यालयका अनुसार लोमान्थाङ–४ चुम्जुङस्थित छुआमा खोलाको बाढी अत्यन्त विनाशकारी बन्यो।
- तीन पक्की मोटरेबल पुल,
- एक फलामे झोलुंगे पुल,
- तीन काठेपुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
गाउँपालिकाका अनुसार, करिब डेढ करोड रुपैयाँभन्दा बढीको पूर्वाधार क्षति अनुमान गरिएको छ।
मानव र पशुमा क्षति छैन
सडक र पुलमा ठूलो क्षति भए पनि मानवीय तथा पशुजन्य क्षति नभएको प्रमुख प्रशासकीय अधिकिकृत विकास केसीले जानकारी दिए।
जलवायु संकटको चिन्ता
विशेषज्ञहरू यो घटनालाई जलवायु परिवर्तनको प्रत्यक्ष असरका रूपमा लिइरहेका छन्। बाढीको कारण खुल्न बाँकी रहे पनि हिमताल (Glacial Lake) फुटेको सम्भावनाबारे वातावरणविद् र प्रशासन गम्भीर अध्ययनमा जुटेका छन्।

