प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा निर्माण गरिएको अत्याधुनिक ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को बिहीबार उद्घाटन गर्नुभएको छ।
राखेपले अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन तथा प्रशिक्षणमा गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित सो केन्द्र स्थापना गरेको हो। एकैपटक १०० भन्दा बढी खेलाडीले अभ्यास गर्न सक्ने गरी अत्याधुनिक प्रविधि र उपकरणसहितको यो केन्द्र नेपाली खेल इतिहासमा पहिलोप्रकारको सुविधा सम्पन्न संरचना हो।
केन्द्रमा रहेका प्रमुख उपकरणहरू:
- एक्स बडी मशिन
- फोर्स फ्रेम र फोर्स डेस्क
- ईएमजी, बीएफआर र डाइनामो इक्विपमेन्ट
- ह्युमन ट्र्याक, भीओटु म्याक्स र टाइमिङ गेट इक्विपमेन्ट
- ल्याक्टिक एसिड एनालाइजर
- एसभीटी मशिन
यी उपकरणहरू अमेरिका, बेलायत, जर्मनी, दक्षिण कोरियालगायतका देशबाट ल्याइएका हुन्। उपकरणहरूले खेलाडीको शारीरिक अवस्था विश्लेषण, कमजोरी पत्ता लगाउने, तथा विज्ञानमा आधारित प्रशिक्षण रणनीति तय गर्न सहयोग पुर्याउने छन्।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेप उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङसहित उच्च अधिकारीहरूको उपस्थिति थियो।

