देशभर मनसुन सक्रिय भएसँगै आज देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै विभिन्न स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा पूर्वमा औसत स्थानमा र पश्चिमतर्फ केही उत्तरतिर सक्रिय रहेको छ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली, अन्यत्र आंशिक बदली तथा थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
देशभर आंशिकदेखि सामान्य बदली, पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्का–मध्यम वर्षा, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना, उच्च पहाडी/हिमाली क्षेत्रमा हल्का–मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
सम्भावित भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव, शहरी र तराई क्षेत्रमा डुबानको सम्भावना, साना/ठूला नदी–नाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्छ।
जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने खतरा हुनसक्छ।
जल तथा मौसम विज्ञान विभागले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता र पूर्व तयारी अपनाउन अनुरोध गरेको छ।

