नेपाली कांग्रेसका महामन्त्री तथा झापा-१ का सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा अब छैटौँ पटक प्रधानमन्त्री बन्न नहुने स्पष्ट धारणा राखेका छन्। उनले पार्टीभित्र लोकतन्त्रको अभ्यासमा ‘म मुक्त विचार राख्न पाउँछु’ भन्दै यस किसिमको राय राख्दा पनि पार्टीले सोधपुछ नगरेको उल्लेख गरे।
“मैले देउवालाई भनेको थिएँ – तपाईं अब छैटौँ पटक प्रधानमन्त्री बन्नु हुँदैन। तर त्यसपछि पनि उहाँसँगै बसेर चिया पिएको थिएँ। स्पष्टीकरणको पत्र आएको छैन,” शर्मा हाँस्दै सम्झिए।
शर्माले नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र, नयाँ नेतृत्व उत्पादन र प्रशिक्षणको अभ्यास अन्य पार्टीभन्दा व्यवस्थित रहेको टिप्पणी गरे। “अन्य पार्टीमा को अध्यक्ष हुन्छ पहिल्यै थाहा हुन्छ, कांग्रेसमा प्रतिस्पर्धा हुन्छ,” उनको प्रष्ट भनाइ थियो।
सभापति बन्ने इच्छा छैन तर भविष्यमा सम्भावना खुल्ला
सभापतिको आकांक्षा छ कि भन्ने प्रश्नमा शर्माले १५औँ महाधिवेशनमा उम्मेदवारी दिने तयारी नरहेको बताएका छन्। तर भविष्यमा त्यो आकांक्षा पुरा गर्ने सम्भावना खुला छ। “मैले अहिले नै सभापति बन्ने चाहना राखेको छैन, तर त्यो आकांक्षा हुनु अनौठो होइन,” उनले स्पष्ट पारे।
संसद् र राजनीति सुधारमा जोड
प्रतिनिधिसभामा पहिलो पटक सांसद बनेका शर्मा अहिले सिक्ने र अवलोकन गर्ने चरणमा रहेको बताउँछन्। संसद्को विधेयक प्रक्रिया, छानबिन, राजनीतिक सौजन्यता, जनउत्तरदायिता र पारदर्शितामा निरन्तर बहस गर्नुपर्ने भन्दै उनले समृद्धिका लागि “रातिमा पनि काम गर्ने संस्कार” को वकालत गरे।
“धनी मुलुकहरू राति पनि काम गर्छन्, नेपालमा चाहिँ सूर्य अस्तायो भने देश मस्त हुन्छ। यस्तो मानसिकता बदल्नुपर्छ,” उनी भन्छन्।
संसद्भित्रका बहस र बाधाहरू
भिजिट भिसा प्रकरण, अख्तियारको अनुसन्धान, गृहमन्त्रीमाथिको मागजस्ता विषयमा उनले “आवेगमा होइन, विवेकमा आधारित” राजनीति गर्नुपर्ने बताए। विपक्षीको प्रश्नलाई सम्मान गर्दै गम्भीर मुद्दामा निष्पक्ष छानबिन जरुरी रहेको उनको धारणा छ।
विकासमा दलगत सीमाभन्दा माथि उठ्नुपर्ने
झापाको जनप्रतिनिधिका रूपमा उनले नदी नियन्त्रण, हात्ती प्रकोप रोकथाम, पर्यटन प्रवर्द्धन, पुल निर्माण, क्याम्पस स्थापनाजस्ता दर्जनौं योजनामा आफू सक्रिय रहेको बताए। “नगरप्रमुख एमाले, प्रदेश सांसद राप्रपाका, तर हामी सबै सहकार्यमा अघि बढिरहेका छौं,” उनले जनाए।
जलवायु न्यायका पक्षमा दृढ
जलवायु परिवर्तन र त्यसबाट उत्पन्न संकटहरूलाई गम्भीर चुनौतीका रूपमा चित्रण गर्दै शर्मा जलवायु न्यायको वकालत अन्तर्राष्ट्रिय स्तरमा बढाउने योजनामा छन्। हिमताल फुट्ने सम्भावना, असार २४ को रसुवा बाढी, बेमौसमी प्राकृतिक प्रकोपजस्ता विषय उनले संसदमा पनि लगातार उठाएका छन्।
विश्वप्रकाश शर्माले राजनीतिमा नैतिकता, शुद्धता र विवेकलाई पुनर्स्थापना गर्नुपर्ने धारणा अघि सारेका छन्। नेतृत्व परिवर्तन, युवा पुस्ताको भूमिका र दलभित्र प्रतिस्पर्धात्मक लोकतन्त्रलाई जोड दिँदै उनले भने,
“राजनीतिमा परिवर्तन अब अपरिहार्य छ, हामीले नीति, आचरण र सोच तीनवटैमा सुधार ल्याउनुपर्छ।”

