नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले रास्वपाका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरिरहेको टिप्पणी गरेका छन्। पाँचदिने चीन भ्रमण सकेर आज फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेमाथिको प्रकरणप्रति आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
“गल्ती भएको ठोस प्रमाण नहुँदा पनि राज्यको ज्यादती”
खनालले स्पष्ट रुपमा भने,
| “रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैन भनेर म कसरी पुष्टि गरूँ र! तर, गल्ती भयो भन्ने नाममा राज्यले अत्यधिक हस्तक्षेप गरिरहेको छ भन्ने मलाई महसुस भएको छ।”
उनको भनाइमा राज्यले कानुनभन्दा बढी राजनीतिक प्रतिशोध वा पूर्वाग्रही व्यवहार देखाइरहेको संकेत पाइन्छ।
रास्वपाको हस्ताक्षर अभियानको पृष्ठभूमिमा टिप्पणी
खनालको यो अभिव्यक्ति त्यतिबेला आएको हो, जब रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापतिविरुद्धको अनुसन्धानलाई राजनीतिक प्रतिशोध भन्दै देशभर हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। खनालको यस्तो भनाइले रास्वपाको आरोपलाई परोक्ष समर्थन दिएको जस्तो देखिएको छ।
वाम एकता अपरिहार्य भएको धारणा
चीन भ्रमणमा वामपन्थी विभाजनबारे चिनियाँ नेताहरूले चासो व्यक्त गरेको उल्लेख गर्दै खनालले भने,
| “वाम एकता आजको आवश्यकता हो। यसको विकल्प छैन।”
उनले वर्गीय लडाइँ, वामको लक्ष्य र वैज्ञानिक समाजवादलाई साझा एजेन्डा बनाएर अगाडि बढे मात्र स्थायी वाम एकता सम्भव हुने बताए।
| “देब्रे–दाइने, लपन–छपन जस्ता विवाद झिकेर आन्दोलन कमजोर पार्नु हुँदैन,” उनले भने, “वैज्ञानिक समाजवादको लक्ष्य लिएको वाम शक्तिबीच एकता अनिवार्य छ।”

