पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा अभ्यास भइरहेको जनताको बहुदलीय जनवाद (जबज) लाई केवल राजनीतिक सिद्धान्त नभई सामाजिक न्याय, लोककल्याण र समृद्धिको मार्गदर्शन गर्ने गहिरो दार्शनिक चिन्तन भएको बताएकी छन्।
शनिबार राजधानीमा आयोजित ‘राज्य, समाज र विकास : जबज दृष्टिकोण’ शीर्षक जर्नलको विमोचन तथा विमर्श कार्यक्रममा बोल्दै भण्डारीले भनिन्,
| “जबज राजनीतिको मात्रै होइन, लोकहित र मानव कल्याणको मार्गचित्र हो। यसबारे उच्च शैक्षिक संस्थामा अध्ययन, अनुसन्धान र गहिरो छलफल आवश्यक छ।”
उनका अनुसार जबजले सुखी नागरिक र समृद्ध राष्ट्रको साझा राष्ट्रिय आकाङ्क्षालाई मूर्त रूप दिन खोजेको हो, र एमाले पार्टी यही चिन्तनअनुसार अविचलित रूपमा लागिरहेको छ।
सो कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डे सँगै भण्डारीले जर्नलको लोकार्पण गरेकी हुन्।
फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले विमोचित जर्नललाई भावी पुस्ताका लागि देश, समाज र राज्य व्यवस्थाबारे अनुसन्धान गर्न चाहनेहरूमाझ विश्वसनीय स्रोत सामग्री हुने बताइन्।
जर्नलका प्रमुख सम्पादक पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे हुन्। यसमा १० वटा विश्लेषणात्मक लेख समावेश छन्, जसले ‘जबज’ सिद्धान्तको विविध पक्षलाई समेट्छ।

