नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टिकापुर घटनाको आरोपमा दोषारोपण भोगिरहेका थारु समुदायलाई निर्दोष बताउँदै, राज्यले वास्तविक अपराधीलाई उन्मुक्ति दिँदै अन्यायपूर्ण व्यवहार गरेको गम्भीर आरोप लगाएका छन्।
शनिबार राजधानीमा आयोजित दलित, थारु, आदिवासी, अल्पसंख्यक तथा पिछडावर्गहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै भने:
| “मान्छे मार्यौँ भनेर खुला रूपमा स्वीकार गर्नेहरू सत्तामा छन्। तर, टिकापुर घटनामा म घटनास्थलमै नभए पनि ममाथि सबैभन्दा ठूलो हत्याको बिल्ला भिराइएको छ।”
उनले नेपाललाई “न्याय मरेको देश” को संज्ञा दिँदै, सामाजिक सञ्जालमार्फत आफूलाई पटक–पटक हत्यारा भनिएको पीडा पनि सार्वजनिक गरे।
उनले थपे:
| “हामी थारुहरू मान्छे नमार्ने, तर हत्यारा भइदियौँ। तर जो खुलेआम मान्छे मार्नेलाई स्वीकार गर्छन्, उनीहरू सत्तामा छन्। सँगसँगै छन्। यो पीडादायक छ। अब विद्रोह गरौँ भने पनि कसलाई, किन, कसरी?”
रेशम चौधरीलाई टिकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय दिइएको थियो। तर, राजनीतिक सम्झौता पश्चात उनी रिहा भएका हुन्। उनको विषयमा मानवअधिकार संगठन, राजनीतिक दलहरू र थारु समुदायले निरन्तर बहस गरिरहेकै छन्।

