नेपालको प्रशासनिक क्षेत्रको लामो अनुभव समेट्दै पूर्व सचिव शारदा प्रसाद त्रितालले इमान्दार कर्मचारीले पनि अनाहकमा भ्रष्टाचारको आरोप खेप्नुपर्ने अवस्थाबाट जोगिनका लागि ९ वटा व्यावहारिक उपायहरू प्रस्तुत गरेका छन्। निजामती सेवा तथा अन्य सरकारी निकायमा कार्यरत नयाँ र पुराना सबै कर्मचारीका लागि यिनले संवेदनशील सन्देश र सुरक्षा रणनीति प्रदान गर्छन्।
१. सम्बद्ध ऐन, नियम र नजीरको गहिरो जानकारी राख्ने
कुनै पनि टिप्पणी, पत्राचार वा निर्णय गर्नुअघि समान्य प्रशासन, आर्थिक कार्यविधि, खरिद ऐन, तथा संबन्धित नजीरहरूको राम्रो अध्ययन गर्न आवश्यक छ। कानून बुझेको र प्रमाणसहित बोलेको कर्मचारीले अनावश्यक अभियोगबाट बच्न सक्ने विश्वासपूर्वक उल्लेख गरिएको छ।
२. टिप्पणी र पत्राचारमा स्पष्ट, सटीक र कानूनी भाषा प्रयोग गर्ने
‘उचित निर्णयार्थ पेस’ जस्ता अनिश्चित वाक्यावली प्रयोग गर्दा उल्टै अप्ठेरो पर्न सक्ने भएकोले छोटो, स्पष्ट र जिम्मेवार भाषा प्रयोग गर्न सुझाव दिइएको छ।
३. फाइल इन्डेक्सिङ र प्रमाणको सुरक्षा गर्नेलाई प्राथमिकता दिने
फाइलको प्रत्येक कागजको क्रमबद्ध इन्डेक्सिङ, हस्ताक्षर, र यदि मौखिक आदेश छ भने लिखित प्रमाणको फोटोकपी राख्न आवश्यक छ। फाइलका कागजातहरू हेरफेर नहोस् भन्ने सुनिश्चित गर्नु जरुरी हुन्छ।
४. दर्ता र चलानी प्रणालीको पूर्ण पालना गर्ने
बाह्य तथा आन्तरिक पत्राचार गर्दा दर्ता वा चलानी नभई फाइल नचलाउने सल्लाह दिइएको छ। यसले फाइल हराउने वा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति नियन्त्रणमा ल्याउन सहयोग गर्छ।
५. निर्देशनको भरमा मात्र कार्य नगर्ने
प्रधानमन्त्री, मन्त्री, सचिव वा सल्लाहकारको निर्देशनको आधारमा कानूनविपरीत निर्णय गरे इमान्दार कर्मचारी पनि फस्ने जोखिम हुन्छ। निर्णय लिँदा ऐन नियमलाई सधैं अगाडि राख्नुपर्छ।
६. विश्वासमा होइन, प्रमाणमा काम गर्ने संस्कार विकास गर्ने
साथीभाइ वा उच्च अधिकारीको ‘भरोसा’ ले काम गर्दा फस्न सकिने देखिएकाले सन्देहास्पद वा अनौपचारिक निर्देशनको पनि लिखित प्रमाण माग्ने बानी बसाल्न आवश्यक छ।
७. विचौलियाको पहिचान र प्रभावबाट टाढा रहने
युनियन, कर्मचारी, मन्त्रीका नातेदार वा हाकिमका नाम लिएर आउने विचौलिया प्रवृत्तिबाट सतर्क रहने, र आफ्नो निर्णयमा उनीहरूको प्रभाव नपर्न दिने।
८. बरबुझारथको कडाइका साथ कार्यान्वयन गर्ने
पदस्थापन वा सरुवाको समयमा सारा फाइल र सामग्रीको विधिपूर्वक जिम्मा बुझ्ने वा बुझाउने, ताकि पछि कुनै झमेलामा नपर्नुहोस्।
९. संस्थागत प्रतिनिधित्व गर्दा विशेष सतर्कता अपनाउने
मन्त्रालय वा निकायका तर्फबाट बोर्ड/समितिमा प्रतिनिधित्व गर्दा–
-
कार्यसूची समयमै प्राप्त गर्नु,
-
‘विविध’ शीर्षकको निर्णयबाट जोगिनु,
-
कानूनी सल्लाह लिनु,
-
निर्णय पुस्तिका हस्ताक्षर गर्नुअघि टिपोटसँग मिलान गर्नु जस्ता उपायहरू अनिवार्य रूपमा अपनाउन आग्रह गरिएको छ।
पढ्दा सामान्य देखिने यी सुझाबहरू व्यवहारमा उतार्न सके, इमान्दार कर्मचारीले अनाहकमा भ्रष्टाचारको आरोपमा फस्नुपर्ने सम्भावना निकै कम हुने त्रितालको भनाइ छ। निजामती सेवा, स्थानीय तह, न्यायपालिका, सार्वजनिक निकायलगायत सबै क्षेत्रमा कार्यरत कर्मनिष्ठ कर्मचारीका लागि यो लेख एक सुरक्षा कवच सरह हुनसक्छ।
© शारदा प्रसाद त्रिताल
पूर्व सचिव, नेपाल सरकार
“इमानदारी मात्र होइन, सतर्कता पनि जरुरी छ।”

