बलिउड सुपरस्टार आमिर खानले एक अन्तर्वार्तामा क्रिकेटसँग जोडिएको आफ्नो एक व्यक्तिगत र भावुक अनुभव साझा गर्दै पाकिस्तानी क्रिकेटर जावेद मियाँदादको अन्तिम बलको छक्काले आफ्नो वैवाहिक जीवनमा तनाव ल्याएको खुलासा गरेका छन्।
हालै लालनटप मिडियालाई दिएको अन्तर्वार्तामा, आमिरले सन् १९८६ मा आफ्नी पहिलो पत्नी रीना दत्तसँगको गोप्य विवाहको दिनको स्मृति सुनाए, जुन दिन भारत–पाकिस्तानबीचको ऐतिहासिक क्रिकेट खेलमा जावेद मियाँदादले अन्तिम बलमा छक्का हानेर पाकिस्तानलाई जीत दिलाएका थिए।
| “हामीले परिवारलाई नबताई बिहे गरेका थियौं, तर घर फर्किँदा सबै खेलमै व्यस्त थिए, हामीलाई कसैले केही सोधेन। त्यो खेलमा भारत जित्ने स्थितिमा थियो, तर मियाँदादको छक्काले मात्र होइन, मेरो दिनको खुसी पनि उडायो,” – आमिर खान
भेट भयो जावेदसँग विमानमा
आमिरले वर्षौंपछि जावेद मियाँदादसँग विमानमा भेट भएको प्रसंग पनि सुनाए।
| “मैले जावेद भाइलाई भनेँ – तपाईंले मेरो वैवाहिक जीवन बिगार्नु भयो, त्यो दिन तपाईंको छक्काले मलाई डिप्रेसनमा पुर्यायो,” आमिरले मुस्कानसहित सम्झिए।
क्रिकेट र बलिउडको पुरानो सम्बन्ध
क्रिकेट र बलिउडबीचको सम्बन्ध लामो इतिहास बोकेको छ। विराट कोहली–अनुष्का शर्मा, केएल राहुल–आथिया शेट्टी जस्ता जोडिहरू यसको उदाहरण हुन्। स्वयं आमिर खान पनि क्रिकेटका कट्टर समर्थक मानिन्छन्। २०११ को विश्वकप फाइनलदेखि २०१३ मा सचिन तेन्दुलकरको सन्यासको दिनसम्म, उनी स्टेडियममै उपस्थित देखिएका थिए।
मियाँदादको ऐतिहासिक छक्का
उक्त ऐतिहासिक खेल १८ अप्रिल १९८६ मा शारजाहमा भएको अस्ट्रल-एशिया कप फाइनल थियो। भारत विरुद्धको खेलमा जावेद मियाँदादले अन्तिम बलमा छक्का हानेर पाकिस्तानलाई रोमाञ्चक जित दिलाएका थिए। मियाँदादले १२४ टेस्ट खेलमा ८८३२ रन र २३३ ओडीआई खेलमा ७३८१ रन बनाएका छन्। उनलाई पाकिस्तान क्रिकेटका सर्वकालीन महान ब्याट्सम्यानमध्ये एक मानिन्छ।

