रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको वेडेल सागरमुनि ५११ अर्ब ब्यारेलको तेल भण्डार फेला पारेको दाबी गर्दै विश्वको भू-राजनीतिमा नयाँ तरंग ल्याएका छन्। उक्त भण्डार साउदी अरबको वर्तमान ज्ञात तेल भण्डारभन्दा दोब्बर ठूलो रहेको बताइएको छ।
विशेषज्ञहरूका अनुसार, यो खोजले अन्टार्कटिक सन्धि (Antarctic Treaty) र शान्तिपूर्ण अनुसन्धानको नाममा स्रोत दोहनबारे गम्भीर प्रश्न उठाएको छ। यो पछिल्लो खोज पछिल्लो पाँच दशकमा उत्तरी सागरबाट निकालिएको तेलको भन्दा दश गुणा बढी रहेको बताइएको छ।
‘कालो सुन’ ले भूराजनीतिक तनाव चुल्याउने खतरा
विवादित वेडेल सागर, जहाँ यो तेलको भण्डार फेला परेको छ, बेलायत, अर्जेन्टिना र चिलीले आ–आफ्नो क्षेत्रको दाबी गर्दै आएका छन्। रूसको यो दाबी र अनुसन्धानात्मक उपस्थितिले यथास्थितिमा गहिरो प्रभाव पार्न सक्ने सम्भावना छ।
| “अन्टार्कटिकालाई सैन्य वा आर्थिक शोषणबाट बचाउन १९५९ को सन्धि लागू गरिएको थियो,” – अन्तर्राष्ट्रिय कानुनविद्
सन्धि उल्लङ्घन वा वैज्ञानिक खोज?
सन् १९५९ मा हस्ताक्षरित अन्टार्कटिक सन्धि अनुसार, यो महादेशलाई केवल वैज्ञानिक अनुसन्धानका लागि प्रयोग गर्न पाउने र कुनै सैन्य गतिविधि वा स्रोत दोहन निषेध गरिएको छ। तर, रूसी वैज्ञानिक टोलीको पछिल्लो गतिविधि र विभिन्न यन्त्रसहित गरिएको ‘भू–पार्टीक सर्वेक्षण’ ले त्यस सन्धिलाई नै चुनौती दिएको छ।
पश्चिमी देशहरू चिन्तित, चीनको चासो पनि बढ्दो
यो खोजको समय र सन्दर्भ थप संवेदनशील छ, किनभने युक्रेन युद्धले पश्चिम–रुस सम्बन्धलाई चिस्याइरहेको छ। अर्कोतर्फ, चीनले पनि पाँचौं अनुसन्धान केन्द्र अन्टार्कटिकामा स्थापना गरेपछि पश्चिमी मुलुकहरू थप सतर्क भएका छन्।
| “रूस र चीनको बढ्दो सहकार्यले अन्टार्कटिकाको शक्ति सन्तुलनलाई गम्भीर चुनौती दिन सक्छ,” – अन्तर्राष्ट्रिय विश्लेषक

