चर्चित लोकगायिका ज्योति मगरले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री बन्नुपर्ने व्यक्तित्वको रूपमा समर्थन गरेकी छन्। उनले आफ्नै प्राथमिकता खुलाउँदै भनिन्, “मेरो च्वाइस रामकुमारी झाँक्री हो, उहाँ एकदमै मनपर्छ।”
प्राइम टाइम्स टेलिभिजनको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले महिला नेतृहरूबारे खुलेर धारणा राखेकी हुन्। विशेषतः विद्यादेवी भण्डारी, ओनसरी घर्ती र सुशिला कार्कीलाई “तुलनै गर्न नसकिने पात्र” भन्दै उनको योगदानको प्रशंसा गरिन्।
झाँक्रीको नेतृत्व क्षमताको प्रशंसा
गायिका मगरले भनिन्, “रामकुमारी झाँक्री निडर छन्, उनी ठाडो स्वभावकी देखिन्छिन् तर गालीमा पनि तर्क हुन्छ। उनले बोलेका कुरा सधैं अर्थपूर्ण र तथ्यमा आधारित हुन्छन्।”
उनका अनुसार झाँक्रीको तर्कशक्ति, स्पष्टता र निडरताले उनलाई प्रधानमन्त्री पदको लागि उपयुक्त उम्मेदवार बनाउँछ।
प्रधानमन्त्री बन्ने सम्भावनामा देउवापत्नीको नाम पनि
पत्रकार धमलाले सोधेको प्रश्न “विद्यादेवी भण्डारी अब प्रधानमन्त्री बन्नुहुन्छ?” भन्नेमा उनले स्पष्ट भनिन्, “बन्ने सम्भावना चाहिँ आर्जु देउवा हो, तर म चाहन्छु कि रामकुमारी झाँक्री प्रधानमन्त्री बनून्।”

