प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा अन्य नेपालीहरूलाई अनधिकृत रूपमा पठाइएको आरोपपछि गृहमन्त्री रमेश लेखकले गहिरो अनुसन्धान गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री लेखकले सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई स्पेन पठाउने गिरोहको विवरण, प्रक्रिया, संलग्न व्यक्ति र भिसा प्रणालीबारे छानबिन गर्न निर्देशन दिनुभएको हो।
गृह मन्त्रालयका अनुसार, अनुसन्धानका दायरामा निम्न प्रश्नहरू समावेश छन्:
-
प्रधानमन्त्रीको टोलीबाहेक अरू कस–कसले कार्यक्रममा भाग लिए?
-
ती व्यक्तिहरू कसरी गए? कुन प्रक्रियाबाट भिसा, टिकट, निमन्त्रणाको व्यवस्था भयो?
-
के यसमा कुनै संगठित गिरोह संलग्न थियो?
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले स्पेन जान भन्दै बाटो लागेका ५५ जनाको नामसूची र कागजातहरू मिडियामा सार्वजनिक गरेपछि यो प्रकरणले व्यापक ध्यान तानेको हो।
अब यो विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मानव बेचविखन अनुसन्धान ब्युरोले संयुक्त रूपमा छानबिन गर्ने भएका छन्।
सरकारले यस घटनालाई मानव तस्कर गिरोहको संगठित नेटवर्कको सम्भावित प्रयोगको रूपमा हेरेर छानबिनलाई प्राथमिकतामा राखेको छ।

