सरकारले साउन महिनालाई ‘डेङ्गी सचेतना महिना’का रूपमा घोषणा गर्दै लामखुट्टे जन्य संक्रमण नियन्त्रणका लागि राष्ट्रिय स्तरको सतर्कता अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज आयोजित एक कार्यक्रममार्फत उक्त घोषणा गर्दै साउनदेखि कात्तिक महिनासम्मको समयलाई उच्च जोखिम अवधि मानेर प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन्।
“हर शुक्रबार बिहान १० बजे: खोज र नष्ट गर अभियान”
मन्त्री पौडेलका अनुसार डेङ्गी संक्रमणको शिखर प्रायः साउनदेखि कात्तिकभित्र पुग्ने भएकाले प्रत्येक शुक्रबार बिहान १० बजे देखि “खोज र नष्ट गर अभियान” सञ्चालन गरिनेछ। अभियानले घर, कार्यालय, विद्यालय र सार्वजनिक स्थान वरपरको पानी जम्ने ठाउँ पहिचान गरी एडिज जातका लामखुट्टेका लार्भा र बासस्थान नष्ट गर्नेछ।
| “साउन संक्रमणको सुरुवाती र संवेदनशील महिना हो,” मन्त्री पौडेलले भने, “यदि यसमै सतर्कता अपनाउन सकियो भने सारा सिजनभर संक्रमणको जोखिम घटाउन सकिन्छ।”
बहु–क्षेत्रीय समन्वय आवश्यक
मन्त्री पौडेलले डेङ्गी नियन्त्रण सरकारको एकल दायित्व होइन भनी स्पष्ट गर्दै यसमा निजी क्षेत्र, नागरिक समाज, टोल विकास समिति, स्थानीय तह र संचारमाध्यम सबैको सहकार्य अपरिहार्य रहेको बताए।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सबै नागरिकलाई घर वरपर पानी जम्न नदिने, पानीको ट्यांकी ढाकेर राख्ने, टायर वा गमलामा पानी नजम्ने बनाउने र नियमित सरसफाइ गर्न अपिल गरे।
“खोज र नष्ट अभियानले संक्रमण घटायो”
स्वास्थ्य सेवा विभागका महानिर्देशक टङ्कप्रसाद बाराकोटीले एडिज जातको लामखुट्टे खोजेर नष्ट गर्नु नै हाललाई सबभन्दा प्रभावकारी उपाय भएको बताए।
उनले भने, “डेङ्गी फैलाउने लामखुट्टे दिनको समयमा टोक्छन्, विशेष गरी बिहान र दिउँसो। त्यसैले यी समयमा बढी सतर्क रहनुपर्छ।”
महाशाखा निर्देशक डा. चन्द्रभाल झाले स्थानीय तहमार्फत उच्च जोखिम क्षेत्र पहिचान भई पहिल्यै बाटो अवरुद्ध गर्ने रणनीति लागू गरिएको जानकारी दिए।
हालको अवस्था: ७३ जिल्लामा डेङ्गी देखापर्यो
किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले दिएको तथ्याङ्कअनुसार, पुस १७ देखि असार ३१ सम्मको अवधिमा ७३ जिल्लाका १,९८३ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ।
“एडिज एजिप्टी र एडिस एल्बोपिक्टस नामका लामखुट्टे पानी जमेको सफा ठाउँमा फूल पार्छन्। त्यसबाट वयस्क बनेपछि मानिसलाई टोकेर संक्रमण फैलाउँछन्,” उनले भने।
विश्व स्वास्थ्य सङ्गठन (WHO) को समर्थन
WHO नेपाल प्रमुख डा. राजेश पाण्डवले डेङ्गी नियन्त्रणका लागि बहु–क्षेत्रीय संलग्नता अपरिहार्य रहेको बताउँदै सामुदायिक सहभागिता, शिक्षा, सरसफाइ, स्थानीय नेतृत्व र सार्वजनिक-निजी सहकार्यको माध्यमबाट मात्र संक्रमण न्यूनिकरण सम्भव हुने धारणा राखे।

