चैनपुर – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले संखुवासभाको चैनपुरमा आयोजित एक कार्यक्रममा “जनताको बलमा मन्त्री बनेको हुँ, अब शीर झुकाउने होइन, परिणाम देखाउनेछु,” भन्दै जनताप्रति प्रतिवद्धता व्यक्त गरे।
मन्त्री खड्काले शुक्रबार सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय को उद्घाटन गर्दै पूर्वी पहाडी जिल्लाहरूलाई लक्षित गर्दै गरिएको योजनाको उद्घाटनलाई विकासको नयाँ सुरुवातको रूपमा व्याख्या गरे।
‘तुइन’बाट ‘टावर’तर्फ देशलाई डोहोर्याउँदैछौं
कार्यक्रममा मन्त्री खड्काले सरकारको म्याद पूरा हुने विश्वास व्यक्त गर्दै, “यो सरकार चल्छ, एक वर्ष प्रधानमन्त्री केपी शर्मा ओली, त्यसपछि शेरबहादुर देउवा बन्नुहुन्छ, तर सरकार जनताको अपेक्षा अनुरूप काम गर्छ,” भने।
चार जिल्लालाई लक्षित गर्दै संखुवासभा, धनकुटा, भोजपुर र तेह्रथुमका घरधुरीहरूमा पहुँच पुर्याउने लक्ष्यसहित सिंचाइ तथा जलस्रोतको क्षेत्रीय कार्यालय स्थापना गरिएको उनले जानकारी दिए।
सेयरदेखि सिचाइसम्म
मन्त्री खड्काले अरुण तेस्रो जलविद्युत आयोजना ९०० मेगावाट क्षमताको रहेको र सोबाट नेपालले २०० मेगावाट पाउने उल्लेख गरे। साथै अपर अरुण आयोजना पनि तीव्र गतिमा अगाडि बढिरहेको जानकारी गराउँदै, “स्थानीय बासिन्दालाई सेयर दिने काम प्रक्रियामा छ,” भने।
कार्यक्रममा उनले विपी कोइरालाको समाजवादी सोचअनुसार गरिबी न्यूनीकरणका लागि सम्पत्ति वितरणमार्फत समावेशी विकासको खाका प्रस्तुत गरे।
सिंचाइ क्षेत्रमा अलपत्र परेका आयोजना पुनः सञ्चालन गर्न लागिएको जानकारी दिँदै उनले भारत र चीनसँग सहकार्य गर्दै किमाथांका नाका, भन्सार, पुल लगायतका पूर्वाधार निर्माणमा सरकारको सक्रियता रहेको उल्लेख गरे।
नीति निर्माणदेखि निर्यातसम्म : समृद्धिको संकेत
ऊर्जा मन्त्री खड्काले विद्युत् तथा जलस्रोतसम्बन्धी विधेयकहरू संसदमा प्रक्रियामा रहेको जानकारी गराउँदै मौसमसम्बन्धी नीति पारित भई वडा तहसम्म विपद् सूचना पुर्याउने प्रणाली सुरु भइसकेको बताए।
“बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरेर १ अर्ब २५ करोड राजस्व संकलन भएको छ,” मन्त्रीले थपे।
कार्यक्रममा सिंचाइ सचिव सरिता दवाडीले “चार जिल्लामा सेवा पुर्याउने कार्यालय मन्त्रीको दृढताका कारण स्थापित भएको” बताइन् भने सिंचाइ विभागका महानिर्देशक सञ्जिव बरालले “संघीय सरकार अन्तर्गतको आयोजना आफैंमा ठुलो उपलब्धि हो” बताए।
स्थानीय सरकारको सम्मान र अपेक्षा
खाँदवारी नगरपालिकाका मेयर महेश थपलियाले “५ अर्ब २० करोड बजेट जिल्लामा ल्याएकोमा धन्यवाद” व्यक्त गर्दै प्रशंसा गरे। पाँछखपन नगरपालिकाका मेयर विपिन राईले त मन्त्रीलाई “भगवानसरह नेता” भनी सम्मान गरे।
कार्यक्रममा आयोजना प्रमुख धिराज लम्सालले सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय ले स्थानीय जलस्रोत उपयोग गरेर कृषि उत्पादन वृद्धि र समृद्धिमा योगदान पुर्याउने बताए।

