काठमाडौं, साउन ५ – नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध अझ सशक्त बनाउने क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच महत्वपूर्ण बैठक सम्पन्न भएको छ।
अर्थ मन्त्रालयमा आयोजित यो भेटवार्तामा द्विपक्षीय विकास साझेदारीलाई थप प्रभावकारी बनाउने हेतुले चारवटा महत्वपूर्ण परियोजनाको समझदारीपत्रमा हस्ताक्षर गरियो।
स्वास्थ्य, मानव संसाधन र ऊर्जामा चार ठूला समझदारी
चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट सेन्टर निर्माण तथा आधुनिक उपकरण जडान सम्बन्धी परियोजना, निजामती कर्मचारी अस्पताल को विस्तारको सम्भाव्यता अध्ययन, मानव संसाधन विकास अन्तर्गत १२७० कर्मचारीको अध्ययन भ्रमण र रसुवा-केरुङ्ग सिमापार ट्रान्समिशन लाइन को सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरियो।
नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट CIDCA अध्यक्ष चेन सियाओदोङ्गले हस्ताक्षर गरे।
१२७० कर्मचारी चीन भ्रमणमा
समझदारीअनुसार नेपालका १२७० जना सरकारी कर्मचारी चीनका विभिन्न शैक्षिक तथा प्रशासनिक संस्थाहरूमा आयोजना गरिने द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा सहभागी हुनेछन्। यस कदमले नेपालको मानव स्रोत विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सिमापार विद्युत व्यापारतर्फ एक कदम
नेपाल विद्युत प्राधिकरण (NEA) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र CIDCA अध्यक्षबीच रसुवागढी–केरुङ्ग सिमापार ट्रान्समिशन लाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरियो। यो लाइनले नेपाल–चीन विद्युत व्यापारको सम्भावनालाई मूर्त रुप दिने विश्वास गरिएको छ।
उच्चस्तरीय सहयोगप्रति नेपाल आशावादी
कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल–चीन सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै, चीनबाट प्राप्त सहयोगको सराहना गरे। उनले उच्चस्तरीय भ्रमण र निरन्तर साझेदारीले दुई देशबीचको सम्बन्धलाई थप गहिरो बनाउने विश्वास व्यक्त गरे।
अर्थ सचिव उपाध्यायले हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य, शिक्षा, ऊर्जा, र पूर्वाधार विकासमा दीर्घकालीन योगदान गर्ने विश्वास व्यक्त गरे।

