काठमाडौं, साउन ६ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले मङ्गलबार शिष्टाचार भेट गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सम्पन्न भएको उक्त भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र विकास साझेदारी विषयमा व्यापक छलफल भएको हो।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको ऐतिहासिक, मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै नेपाल एक-चीन नीतिप्रति दृढ प्रतिवद्ध रहेको पुनः दोहोर्याउनुभयो। साथै, चीनले रसुवागढी नाकाको पुनर्निर्माणमा दिएको प्राथमिकताका लागि धन्यवाद व्यक्त गर्दै भूपरिवेष्टित नेपाललाई भूजडित राष्ट्रमा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्यमा चीनको सहयोगप्रति विश्वास व्यक्त गर्नुभयो।
बेल्ट एण्ड रोड परियोजनाको कार्यान्वयनमा जोड
प्रधानमन्त्रीले किमाथाङ लगायतका प्रमुख नाका सञ्चालनमा तीव्रता दिनु पर्नेमा जोड दिनुभयो। साथै, चीनसँगको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) फ्रेमवर्क’ अन्तर्गतका परियोजनाहरू विना अवरोध अघि बढ्नुपर्ने बताउँदै दुवै पक्षको तदारुकता आवश्यक रहेको उल्लेख गर्नुभयो।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, परराष्ट्र मन्त्रालयका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत चेन सोङ समेत सहभागी थिए।
चार परियोजनामा समझदारीपत्रमा हस्ताक्षर
सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भेटका क्रममा चार प्रमुख परियोजनामा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। यी परियोजनामा चीनको प्राविधिक र वित्तीय सहयोग रहनेछ। समझदारीले आगामी दिनमा विकास साझेदारी अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
नेपाल–चीन सम्बन्धको आगामी यात्रामा नवीन सहकार्य, रणनीतिक साझेदारी र आपसी विश्वासलाई अझ सुदृढ गर्ने आधार बनाउने प्रधानमन्त्री ओलीको दृष्टिकोण दुई देशबीचको कूटनीतिक सम्बन्धमा महत्वपूर्ण माइलस्टोनका रूपमा हेरिएको छ।

