काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मादक पदार्थ, सूर्तिजन्य वस्तु र लागू पदार्थको हानिकारक प्रभावबारे जनचेतना फैलाउन आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसको ४३ औँ बीपी स्मृति दिवसको अवसरमा आयोजित ३० दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहमा देउवाले यस्तो बताएका हुन्।
उहाँले स्वास्थ्य, वातावरण र जलवायु परिवर्तनमा आधारित दीर्घकालीन प्रभावलाई ध्यानमा राख्दै प्रत्येक नागरिक सचेत बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “हामी सम्पूर्ण नागरिकलाई यस्ता हानिकारक पदार्थको प्रयोगबाट बच्न र समाजमा सचेतना फैलाउन आह्वान गर्दछौं,” देउवाले भन्नुभयो।
बीपी कोइरालाको स्मृतिमा “धुम्रपानमुक्त” अभियान
वि.सं. २०३९ सालको साउन ६ गते निधन हुनुभएका बीपी कोइरालालाई स्मरण गर्दै देउवाले उनको राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको योगदान नेपाली राजनीतिक इतिहासमा अजर-अमर रहेको बताए। कोइरालाको निधन घाँटीको क्यान्सरका कारण भएको उल्लेख गर्दै उनले यस्ता रोगहरू धुम्रपान र सूर्तिजन्य पदार्थ सेवनसँग सम्बन्धित रहेको बताए।
सभापति देउवाले कार्यक्रममा घोषणा गर्दै भने –
“नेपाली कांग्रेसको केन्द्रीय कार्यालयदेखि वडास्तरसम्मका सबै कार्यालय, भ्रातृ संगठन र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरूलाई धुम्रपान र सूर्तिजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्दछु।”
सामाजिक स्वास्थ्य र पार्टी संस्कृतिमा सुधारको संकल्प
देउवाले वातावरणीय स्वास्थ्यप्रति पार्टीको नैतिक जिम्मेवारी रहेको भन्दै यस्ता पहलहरूद्वारा सामाजिक संस्कारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। “बीपी कोइरालाको विचार र जीवनशैलीलाई अनुसरण गर्दै समाजमा सकारात्मक चेतना विस्तार गर्नु हाम्रो कर्तव्य हो,” उहाँले भन्नुभयो।
समारोहमा नेपाली कांग्रेसका विभिन्न नेताहरू, वातावरण सरोकार विभागका पदाधिकारी, र जनप्रतिनिधिहरूको उपस्थितिमा प्रशिक्षणको समापन गरियो।

