काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रको मूल्य र अधिनायकवादको यथार्थबारे आफ्नो पुस्ताले प्रत्यक्ष अनुभव गरेको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनमा योगदान दिने अगुवा पुस्ताको सम्मानमा स्थापना गरिएको बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ अन्तर्गत चार स्रष्टालाई आज पुरस्कार प्रदान गर्नुभयो।
प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्बाङ (वैरागी काईँला) र भुवन ढुंगाना कोइराला लाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्नु भयो। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको आयोजनामा सो पुरस्कार प्रदान गरिएको हो।
अधिनायकवादको परिभाषा र बीपी कोइरालाको योगदान
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “अहिले कुनै कुरा चित्त बुझेन भने अधिनायकवादी भनिन्छ, तर अधिनायकवाद कस्तो हुन्छ भन्ने कुरा हामीले जेल, हत्कडी र कालकोठरीमा अनुभूति गरेका छौँ। बीपी कोइरालाले त्याग र बलिदानबाट मार्ग प्रशस्त गर्नुभयो।”
प्रधानमन्त्री ओलीले बीपी कोइराला र पुष्पलाल श्रेष्ठलाई दल विशेषको नभई सम्पूर्ण राष्ट्रका नेता को रूपमा चित्रण गर्दै यिनको योगदान नेपालको लोकतान्त्रिक इतिहासमा अमूल्य रहेको उल्लेख गर्नुभयो।
बीपी राष्ट्रिय पुरस्कार: स्रजनशीलता र लोकतन्त्रको सम्मान
साहित्य तथा राजनीतिक योगदानका लागि स्थापना गरिएको बीपी कोइराला राष्ट्रिय पुरस्कार आर्थिक वर्ष २०७७/७८ मा सुरु गरिएको हो। यस पुरस्कारमार्फत हरेक वर्ष राजनीति, साहित्य र समाजसेवामा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिँदै आएको छ।
बीपी कोइरालाले प्रजातान्त्रिक समाजवाद, समावेशी राजनीति र साहित्यको माध्यमबाट राष्ट्र निर्माणमा योगदान पुर्याएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो।
सन्देश स्पष्ट : लोकतन्त्र सजिलो होइन, सघर्षले सम्भव भएको मूल्य
प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक वातावरणलाई सजिलो भनेर अधिनायकवादको आरोप लगाउनु गलत भएको धारणा राख्दै भने, “प्रजातन्त्र कुनै सजिलो उपलब्धि होइन, यो कठिन संघर्षको नतिजा हो। बीपी कोइरालाहरूले हामीलाई संघर्षको बाटो देखाएका हुन्।”
सो अवसरमा मन्त्री, उच्च पदाधिकारीहरू, लेखक, साहित्यकार र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

