अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा रुस भ्रमण गर्न सक्ने सम्भावना रहेको ह्वाइट हाउसले मङ्गलबार संकेत गरेको छ। यो टिप्पणी त्यस्तो समय आएको हो, जब ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन यसै हप्ताको अन्त्यतिर अमेरिकी राज्य अलास्कामा भेट गर्ने तयारीमा छन्।
अगस्ट १५ का लागि तय गरिएको अलास्का बैठकमा युक्रेन युद्धको सम्भावित समाधान र अमेरिका–रुस सम्बन्ध मजबुत पार्ने मुद्दा छलफल हुने अपेक्षा गरिएको छ।
ह्वाइट हाउसको स्पष्ट संकेत
पत्रकारहरूले ट्रम्पको रुस भ्रमणबारे सोध्दा, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भनिन् — “भविष्यमा रुस भ्रमण गर्ने योजना हुने सम्भावना छ।” यसअघि मस्कोले पनि अलास्का बैठकपछि अर्को भेट रुसमै गर्ने आशा व्यक्त गरिसकेको छ।
क्रेमलिनका सल्लाहकार युरी उशाकोभले गत सातै ट्रम्पलाई औपचारिक निमन्त्रण पठाइएको बताएका थिए।
युक्रेन वार्तामा जेलेन्स्कीको अनुपस्थिति
ट्रम्पले सोमबार भनेका थिए कि उनी अर्को उच्चस्तरीय बैठक आयोजना गर्ने तयारीमा छन्, जसमा पुटिन र भोलोदिमिर जेलेन्स्कीलाई एउटै टेबलमा ल्याउने प्रयास हुनेछ। तर उनले यस शुक्रबारको अलास्का बैठकमा जेलेन्स्कीलाई निमन्त्रणा नगरिएको स्पष्ट पारे।
मस्कोले लामो समयदेखि जेलेन्स्कीमाथि “यथार्थ अस्वीकार गर्ने” र “जित्न नसक्ने युद्धलाई लम्ब्याउने” आरोप लगाउँदै आएको छ।
पुटिनको शर्त
रूसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई भेट्नमा “मूलतः आपत्ति छैन” भनेका छन्, तर “विशेष परिस्थितिहरू” तयार हुनुपर्ने शर्त अझै कायम रहेको बताएका छन्।
यससँगै, आगामी कूटनीतिक प्रक्रियामा अलास्का बैठकलाई निर्णायक चरणको रूपमा हेरिएको छ, जसले अमेरिका–रुस सम्बन्ध र युक्रेन संघर्षको भावी दिशामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

