spot_img
Friday, April 16, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

देशको अर्थतन्त्र र पुँजी बजारको बेमेल

spot_img
spot_img

काठमाडौं । कोभिड–१९ को चुनौतीका कारण एकातिर देशको अर्थतन्त्र खस्केको छ भने अर्कातर्फ सेयर बजारमा लगानी गर्न लगानीकर्ताको उत्साह भने थामिनसक्नु हुँदै गएको छ । यो देशको समग्र अर्थतन्त्रको संयोजित चित्र होइन अर्थात् पुँजी बजारले देशको अर्थतन्त्रलाई ऐनामा जस्तै देखाउन सक्नुपर्नेमा त्यो पनि नदेखिने गरेको छ । पुँजी बजारमा सेयर आवेदन दिनेको भीड र दोस्रो बजारमा पनि हुने विभिन्न चलखेल त्यसका उदाहरण हुन् ।

प्राथमिक बजारमा उच्च माग

गत साता जनरल इन्स्योरेन्स कम्पनीले साधारण सेयर जारी गर्दा मागभन्दा झन्डै सात गुणा बढी आवेदन प¥यो । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार सेयर आवेदन भर्ने अन्तिम मितिसम्ममा आठ लाख १३ हजार ७२५ आवेदकले कुल दुई करोड २४ लाख ७७ हजार ३० कित्ताका लागि आवेदन दिए । कम्पनीले भने जम्मा ३० करोड रुपियाँ बराबरको लाख कित्ता सेयर मात्र जारी गरेको थियो । कुनै कम्पनीको आईपीओको लागि यति धेरै आवेदन परेको पहिलो घटना हो ।

गत असारमा अजोड इन्स्योरेन्स लिमिटेडले जारी गरेको ३० लाख कित्ता साधारण सेयरमा पनि चार दिनभित्रै ६.६१ गुणा बढी आवेदन परेको थियो ।

त्यस्तै एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयरमा ५.१६, रिलाइन्स लाइफको ४.२६ र नेपाल पुनर्बीमा कम्पनीको सेयरमा १.५७ गुणाभन्दा बढी सेयर आवेदन परेका थियो । त्यस्तैगरी एनआरएन इफ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले साउनमा माग गरेको साधारण सेयरमा पनि अधिक आवेदन परेको थियो ।

साधारण सेयर निष्कासन निजी कम्पनीहरूलाई दीर्घकालीन स्रोत जुटाउने प्रमुख माध्यम त हो नै यसले ऋण दातामाझ विश्वासको वातावरण बनाउन पनि महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।

कतिपयले सुरुमा पुँजी जुटाउँछन् भने कतिपयले पैसा कम हुनेबित्तिकै पनि यही साधनको उपयोग गर्ने गरेका छन् । कतिपय जलविद्युत् कम्पनीले कोभिड–१९ का कारण निर्माण सम्पन्न हुने मिति केही पर धकेलिएपछि पुनः पुँजी बजारबाटै थप रकम जोहो गर्न लागिपरेका छन् । आखिर सेयर बजारमा यसरी लगानी बढ्नुका कारण के हुन् ? यसबारे गोरखापत्रले केही तथ्य खोज्ने प्रयास गरेको छ ।

‘पार्किङ’ लगानी र न्यून ‘फेस भ्यालु’

पछिल्ला दिनमा सेयर बजार प्रविधिमैत्री भएको छ । सीडीएस एन्ड क्लियरिङले मेरो सेयर सफ्टवेयर प्रयोगमा ल्याएपछि लगानीकर्ता विगतको जस्तो घण्टौँ लाइनमा बस्नु पर्दैन । जहाँसुकैबाट पनि बिनाझन्झट सेयर आवेदन गर्न सकिने भएकाले पनि राम्रा र आशलाग्दा कम्पनीको सेयरमा अधिक पर्ने गरेको हो । अनलाइनबाटै सेयर भर्न र किनबेच गर्न सकिने सुविधा भएपछि इन्टरनेटको पहुँच भएका व्यक्तिले औँला चलाएकै भरमा घर वा अफिस जहाँसुकैबाट सेयर भर्नसक्ने अवस्था सिर्जना भएकाले बजार बढेको पुँजी बजारलाई अध्ययन गरिरहनुभएका प्रकाश तिवारी बताउनुहुन्छ । हाल नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५९ ब्रोकर कम्पनीमा गरेर कुल तीन लाख ३७ हजार ३६० सक्रिय अनलाइन कारोबारी छन् ।

त्यस्तै कोभिडका कारण घर–जग्गालगायत अन्यत्र लगानी हुन नसकेको र उपभोक्ता बजार पनि सङ्कुचित भएका कारण पनि व्यक्तिले केही समयका लागि भए पनि आफूसँग भएको पुँजीलाई पार्किङ गर्ने हिसाबले सेयर बजारमा लगानी गर्दा बजार अधिक आवेदन पर्ने गरेको उहाँको भनाइ छ ।

उहाँँ भन्नुहुन्छ, “बैङ्क, वित्तीय संस्थामा तरलता थुप्रिएका कारण बैङ्कले पनि सरल र सुलभ रूपमा ब्याज दर घटाएर सेयर कर्जाको सुविधा अफर गरिरहेका कारण पनि लगानीकर्तालाई प्रोत्साहन मिलिरहेको छ । अहिलेसम्म एक सय रुपियाँको फेस भ्यालुमा नै सेयर आईपीओ आउने भएकाले पनि कुनै पनि कम्पनीको सेयर मागभन्दा अधिक हुने गरेको हो । ”

बैङ्क तथा वित्तीय संस्थाको बोलवाला

सेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको बढी बोलवाला रहने गरेको छ । हाल कोभिडका कारण ती संस्थाको सेयर मूल्य त्यति धेरै नबढे पनि आगामी दिनमा बढ्ने अपेक्षामा लगानीकर्ता छन् । त्यसलाई पार्किङभन्दा पनि लामो नै समयको लगानी भन्न सकिने अर्का बजार विश्लेषक विष्णु बस्यालको भनाइ छ ।

त्यस्तै डिजिटलाइजेसनका कारण विगतमा जस्तो सेयर बजार सहरी क्षेत्र भूगोलभित्र मात्र सीमित रहेन । स्वदेश वा विदेश जहाँसुकैबाट पनि सेयर कारोबार गर्न सकिने हुँदा लगानीकर्ता बढ्न गई बजार बढेको विज्ञको भनाइ छ । यद्यपि नेप्से परिसूचक यसअघि नै १८८० को बिन्दुमा पुगिसकेको इतिहास हेर्दा अहिलेसम्म १६०० को बिन्दुलाई नाघ्न नसकेकाले बजार धेरै बढेको भन्नसक्ने अवस्था भने छैन ।

सुझबुझ नै हो कि लहड पनि ?

पुँजी बजारमा अहिले भएको लगानी साँच्चै लगानीकर्ताले सुझबुझपूर्ण लगानी नै हो कि लहडबाट प्रभावित लगानी भएका हुन् त ? बजार विश्लेषकहरू बजारमा सुझबुझपूर्ण लगानीभन्दा लहडको लगानी बढी भएको मान्दछन् । विशेषगरी पछिल्लो समयमा लघुवित्त र बीमा कम्पनीका साधारण सेयरमा लगानी गर्दा त्यसबाट चार÷पाँच गुणाभन्दा बढी आम्दानी भएको पाएपछि सोझा र साना लगानीकर्ता आईपीओ भन्नेबित्तिकै त्यसमा झुम्मिने प्रवृत्ति देखिएको लगानीकर्ता दिलीप मुनंकर्मी बताउहुन्छ । उहाँ भन्नुहुन्छ, “केही साना लगानीकर्ताले डिबेन्चरलाई समेत आईपीओ सम्झेर लगानी गरेको देख्दा सुझबुझपूर्णभन्दा लहडको लगानीजस्तो देखिन्छ । ” त्यस्तै सेयर हालेपछि न्यूनतम १० कित्ता त परिहाल्छ भन्ने सोचले पनि गुणात्मकभन्दा सङ्ख्यात्मक लगानी बढेको छ ।

अर्का बजार विश्लेषक बस्याल विश्वभरकै सेयर बजारमा आममानिसले लहडकै भरमा लगानी गर्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सेयर बजार सेन्टिमेन्ट वा साइकोलोजिकल गेम नै हो । जोखिमको मूल्याङ्कन गरेर लगानी गर्ने वित्तीय साक्षर व्यक्ति सीमित सङ्ख्यामा मात्र हन्छन् । सेयर बजारमा नाफा मात्र होइन नोक्सान पनि बेहोर्नुपर्छ भन्ने कुरा बुझाउनु जरुरी छ । ”

लहडको कारक सामाजिक सञ्जाल पनि

पछिल्लो समयमा सामाजिक सञ्जालको प्रभावमा परेर पनि सेयर बजारमा लहड चल्ने गरेको छ । चलाख र ठूला लगानीकर्ताले बजारमा कम मूल्य भएका सेयर ठूलै मात्रामा उठाउने र प्रायोजित रूपमा सामाजिक सञ्जालको प्रयोग गरेर आफूले उठाएको कम्पनीको सेयर राम्रो भएको प्रचारप्रसार गरेर अधिकतम मूल्य बढाउने गरेको पाइएको छ । केही दिन बजार बढेको देखेपछि त्यसमा लगानी गर्न आकर्षित हुने मानवीय स्वभाव बुझेकाले पनि यस्तोमा सेयर बजार कम बुझेका वा लहडमाा किनबेच गर्ने साना लगानीकर्ता फस्ने गरेको तिवारीको भनाइ छ ।

बोरे प्रवृत्तिको नयाँ रूपमा ‘फेक खाता’

डेढ दशकअघि सम्म सेयर बजारमा ‘बोरे लगानीकर्ता’को चर्चा हुने गथ्र्यो । बाठा लगानीकर्ताले गाउँगाउँबाट धेरै सोझासाझाको नागरिकता बटुलेर बोराभरि ल्याएर उनीहरूका नाममा सेयर हालिदिने र लाभजति आफू लिने प्रवृत्ति थियो तर पछि त्यसलाई निरुत्साहन गरियो ।

अहिले सबै प्रक्रिया बैङ्कमार्फत हुन थालेको छ । डिम्याट खाता अनिवार्य छ । प्रविधिमा निकै विकास भए पनि त्यसमा रहेका केही छिद्रको दुरुपयोग गर्दै एक व्यक्तिले धेरैको नाउँमा खाता खोलेर त्यसैबाट सेयर कारोबार बढ्न थालेको छ । विशेष गरी बैङ्क र ब्रोकर कम्पनीका कर्मचारीको मिलेमतोमा यस्ता काम हुने गरेको बजार विश्लेषकले बताउन थालेका छन् । वित्तीय कानुनअनुसार यस्तो कार्य गैरकानुनी हो तर हालसम्म नियामक निकायले यस्तो विषयमा छानबिन गरेको छैन । कुनै कारबाही गरेको छैन ।

केही लगानीकर्ताले आफ्ना सामाजिक सञ्जालमा आफूले एकै दिन ८० वटा खाता खोलियो वा एक सयवटा खाता खोलियो भनेर सार्वजनिक गरेबाट पनि बजारमा यस्ता विकृति देखिन थालेको बुझ्न सकिने लगानीकर्ता मुनकर्मी बताउनुहुन्छ । विश्लेषक बस्याल भने एकाध त्यस्ता घटना सुन्ने गरेको बताउँदै यसमा केही गिरोह लागेको हुनसक्ने सम्भावना पनि नकार्नुहुन्न ।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी पनि त्यसलाई स्वीकार्नुहुन्छ । उहाँ बोर्डमा दुई÷तीनवटा त्यस्ता केस आएको र त्यसमाथि छानबिन हुन थालेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तर यसैको कारण कुनै पनि कम्पनीको सेयर ओभर सस्क्राइब भएको भने होइन । ”

कसैले फर्जी एकाउन्ट खोलेर कारोबार गरेमा सम्बन्धित व्यक्ति, बैङ्क, ब्रोकर कम्पनीलाई समेत कारबाही हुने उहाँको भनाइ छ । नेपालका बैङ्क निकै पारदर्शी र सक्षम भएकाले त्यस्तो फर्जी काम होला भनेर बोर्डले परिकल्पनासमेत नगरेको उहाँको भनाइ छ।- गोरखापत्र अनलाईनबाट

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: