१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नेपाल आयल निगमको सातै प्रदेशमा भण्डारण क्षमता विस्तार, गण्डकीको पोखराबाट सुरुवात



काठमाडौँ । नेपाल आयल निगमले सातै प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने प्रक्रियास्वरूप गण्डकी प्रदेशको पोखरामा पाँच हजार किलोलिटर (केएल) पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन लागेको छ । त्यसका लागि गगनगौँडास्थित निगमको प्रादेशिक डिपोमा दुईवटा ठाडा ट्याङ्की निर्माणको प्रक्रिया अघि बढाइएको छ । टेन्डर मूल्याङ्कन गरी स्वीकृतिको अन्तिम तयारीमा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

निगमले नयाँ ट्याङ्कीमा डिजेल भण्डारण गर्नेछ । हाल भइरहेका तीनवटा डिजेल भण्डारणका ट्याङ्कीलाई पेट्रोल भण्डारणमा परिणत गर्ने भएको छ । गण्डकी प्रदेशमा हाल दुई हजार २८० केएल डिजेल र ३५० केएल पेट्रोल भण्डारण हुने गरेको छ । बजारको आवश्यकता र हरेक प्रदेशमा भण्डारण क्षमता वृद्धि गर्दै जाने सरकारको नीतिअनुसार गण्डकी प्रदेशमा भण्डारण क्षमता विस्तारको काम सुरु भएको उपाध्यायको भनाइ छ । दुई वर्षमा निर्माण सम्पन्न हुनेछ । निगमको जग्गामा निर्माण हुन लागेको सो भण्डारण निर्माणमा निगमले ७७ करोड रुपियाँ (भ्याटबाहेक) लगानी गर्ने भएको छ ।

सातै प्रदेशमा विस्तार हुने

सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गरी नेपाललाई कम्तीमा ९० दिनसम्म पुग्ने भण्डारण बढाउने योजनाअनुसार काम अघि बढिरहेको निगमले जनाएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ मा अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु गरी भण्डारण क्षमता निर्माणको काम अघि बढाइने भएको छ ।

पेट्रोलियम भण्डारण तथा पाइपलाइनको योजना आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ । सोहीअनुसार निगमले काम अघि बढाएको हो । अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइनको सम्भाव्यता अध्ययन सकिएर पहिलो चरणको काम भइरहेको निगमले जनाएको छ । डीपीआर तयारीको काम भइरहेको छ । लोथरमा एक लाख केएल पट्रोलियम पदार्थ भण्डारण क्षमताको निर्माण गरिँदै छ ।

प्रदेश १ को झापा चारआलीमा पनि भण्डारण क्षमता वृद्धि गरिने छ । चारआली–सिलगुडी पेट्रोलियम पाइपलाइनबाट आएको पेट्रोलिमय पदार्थलाई चारआलीमा भण्डारण गरिने छ । चारआलीमा ४१ हजार केएलको भण्डारण क्षमता निर्माण हुनेछ । जसको लेआउट तयार गर्ने काम भइरहेको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । चारआली–सिलगुडी पाइपलाइनको पनि लेआउटको काम भइरहेको छ । साथै इन्डियन आयल कर्पोरेसनसँगको छलफल पनि सँगसँगै अघि बढेको निगमले जनाएको छ ।

चारआलीमा मट्टीतेल, डिजेल, पेट्रोल र एपीएफको भण्डारणका लागि १५ वटा ट्याङ्की निर्माण हुने छन् । तीनवटा अन्डरग्राउन्ड ट्याङ्की निर्माण गरिने छ । चारआलीमा रहेको निगमको २३ बिघा जग्गामा भण्डारणका संरचनाहरू निर्माण हुने छन् । भण्डारण निर्माणका लागि प्रदेश ५, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सम्भाव्यता अध्ययन र जग्गा प्राप्तिका बारेमा काम भइरहेको निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !