७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

इजरायलले अबको छ महिनाभित्रमा नेपालबाट श्रमिक लाने



काठमाडौँ । नेपाल र इजरायल सरकारबीच भएको श्रम समझदारीअनुसार अबको छ महिनाभित्र नेपाली श्रमिक इजरायल जान सुरु गर्ने छन् । दुई देशबीच कार्यान्वयन प्रोटोकलमा श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यससम्बन्धी कार्यविधि तयार गरेर श्रमिक पठाउने प्रक्रिया गर्ने जनाइएको छ । त्यसका लागि नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच प्रोटोकलमा हस्ताक्षर हुनेछ । नेपाली श्रमिकले इजरायलको केयरगिभर, कृषि, होटल, रेस्टुरेस्ट, निर्माणलगायतका क्षेत्रमा रोजगारीको अवसर पाउने छन् तर प्रत्येक क्षेत्रमा रोजगारीको अवसर खुल्नका लागि इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया खुला हुनेछ ।

यसअन्तर्गत पहिलो चरणमा केयरगिभरको क्षेत्रमा पाँच सय नेपाली श्रमिक इजरायलले लैजाने छ । नेपाली श्रमिकलाई इजरायल पठाउने काम वैदेशिक रोजगार विभागले गर्नेछ ।

विभागका महानिर्देशक कुमार दाहालले अबको छ महिनाभित्र पहिलो चरणका लागि तोकिएका पाँच सय जना इजरायल जान सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रक्रियाबाट इजरायल गएकाले आआफ्ना क्षेत्रमा के कस्तो इमानदारी देखाउन छन्, त्यही आधारमा पछि थपिने सङ्ख्याको टुङ्गो लाग्नेछ । ”

इजरायल र नेपाल सरकारबीच २०७२ साल साउनमा केयरगिभरमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा एक सम्झौता (एमओयू)मा हस्ताक्षर भएको थियो । कमाइ र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको रोजगारी सरकारी स्तरमा श्रम सम्झौता (जीटूजी) भएको पाँच वर्ष नपुग्दै बन्द भएको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निकै महत्व दिएर सुरु गरेको केयरगिभर रोजगारीमा श्रम सम्झौता भएको दुई वर्षपछि इजरायलबाटै श्रमिकको माग आउन छाडेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम सम्झौता भएपछि इजरायल सरकारले दुईपटक श्रमिकको माग गरेको थियो । त्यसपछि श्रमिकको माग नै बन्द गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष केयरगिभरको रोजगारीमा जाने सम्झौता भएको थियो ।

नयाँ श्रम सम्झौतापछि विगतभन्दा व्यवस्थित प्रणालीबाट इजरायल रोजगारीमा श्रमिक पठाउन सकिने विभागका महानिर्देशक दाहालको भनाइ छ । श्रम सम्झौताअनुसार एसएलसी वा एसईई उत्तीर्ण गरेर १५ महिने स्वास्थ्य सेवासम्बन्धी तालिम वा १२ कक्षा उत्तीर्ण भई तीन महिने कियरगिभरसम्बन्धी तालिम लिएका, अङ्ग्रेजी बोल्न सक्नेले इजरायल रोजगारीमा जानका लागि आवेदन दिनसक्ने छन् । श्रम सम्झौतामा विभिन्न चरणमा द्ुई सय अमेरिकी डलर तलब हुने बताइएको छ ।

यसअघिको सम्झौताअनुसार इजरायलमा बालबालिका तथा वृद्धवृद्धाको रेखदेख र स्याहारसुसारका लागि दुई वर्षभित्र तीन सय केयरगिभर पठाउन नेपाल र इजरायल सरकारबीच सम्झौता भएको थियो तर यो अवधिमा करिब ७७ जना नेपाली केयरगिभर रोजगारीका लागि इजरायल पुगेको विभागले जनाएको छ ।

विभागका अनुसार इजरायल रोजगारीका लागि दुई वर्षको बीचमा दुईपटक इच्छुक युवायुवतीसँग आवेदन सङ्कलन गरे पनि दोस्रो चरणमा सफल भएका ४२ जना अझै इजरायल जान पाएका छैनन् । इजरायलले खेती (एग्रिकल्चर) र सुसारे (केयरगिभर)को क्षेत्रमा विदेशी कामदार भित्र्याउने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !