spot_img
Friday, June 18, 2021
spot_img

ट्रेन्डिङ :

‘बाँदरको संघीयता’ !

spot_img
  • पेशल आचार्य

लेखको शीर्षकका लागि कथाकार माधव सयपत्रीजीलाई धन्यवाद् । वहाँले कुनै बेला आफ्नो बालकथाको शीर्षक राख्नु भएको थियो –‘बाँदरको संघीयता’ । आज त्यो यो लेखका लागि ठ्याक्कै काम लाग्यो । पहिलो कुरा अहिले नेपालमा संघीयताको आवश्यकताका बारेमा विभिन्न कोणहरूबाट बहस, चर्चा, मुद्दा र परिचर्चाहरूले प्रबल स्थान पाइरहेका छन् । त्यतापट्टि चर्चा गर्नु यो लेखको विषय होइन । कुनै दिन त्यसबारेमा पनि छुट्टै वृहत् बहस गरौंला ।

नेपालीमा एउटा सटिक उखान छ –‘बाँदरले आफ्नो घर बनाउँदैन र अरुको घर पनि सद्दे रहन दिँदैन ।’ बाँदरको उपद्रयाहा स्वभाव र आरिसे प्रवृत्तिका बारेमा यो उखानको आविष्कार भएको होला तर अहिले प्रदेश नंं. –५ को राजधानी र नामकरणलाई लिएर यो उखानलाई सम्झिने काम भएको छ ।

५ नं. प्रदेश सभामा यतिखेर नेकपाको बहुमत छ । उसले जे निर्णय पारित ग¥यो सो सरासर अक्षरशः कार्यान्वयन हुने स्थिति छ । अहिले सो प्रदेशको राजधानी प्रदेश सभाले दाङ जिल्लाको भालुबाङ र प्रदेशको नाम लुम्बिनी तोकेको छ । हाइबेमा रहेको सामान्य बजार क्षेत्र मात्र पर्ने स्थान भालुवाङलाई प्रदेश राजधानी तोक्दा बुटबलका जनताहरू एकातिर आगो भएका छन् भने अर्कातिर दाङ सदरमुकाम घोराईका जनताहरू पनि बेखुसी रहेका छन् ।

प्रदेश तातेकै माहोलमा मुख्यमन्त्री शंकर पोखरेलचाहिँ प्रधानमन्त्रीसँग मन्त्रणा गर्न यही हप्ता राजधानी हानिएका छन् । यतिखेर सो सभामा काँग्रेसका सभाषद्हरू फर्निचर तोडफोडमा उत्रिँएर बाँदर भाँतीमा प्रस्तुत भएका छन् । मन्त्रीले मर्यादापालकहरूलाई राष्ट्रोमबाटै आदेश दिएर तोडफोडमा उत्रने सांसदहरूलाई सभा हलबाटै निकाल्ने आदेश दिएका छन् ।

नेपाली लोकतन्त्रको सबैभन्दा ठूलो ‘मसिहा’ आफूलाई ठान्ने नेपाली काँग्रेसका आगे विरोधका धेरै प्रजातान्त्रिक विकल्पहरू बर्करार रहँदारहँदै उसले जुन विकल्पको छनोट गरी प्रदेश सभामा प्रस्तुत ग¥यो सो लोकलाई कुनै पनि हालतमा चित्त बुझ्ने खालको पक्कै छैन । जनताले आफ्ना सभाषद्लाई यस्तो रौद्र रुपको भाँतीमा देख्दा लोकतन्त्रप्रति नै चरम वितृष्णा उत्पन्न हुन्छ । यो त्यही प्रवृत्ति हो जसले ‘बाँदरलाई लिस्नो’ भन्ने अर्को उखान पनि चरितार्थ हुन जान्छ ।

एकजना मित्रले गतिलो गरेर फेसबुकमा लेखे –‘आखिर अरूहरू र तपाईंहरूमा केही फरक नभएपछि परिचयको के आवश्यकता रह्यो र ?’ यो अप्रत्यक्ष रुपले नेकपा र काँग्रेसलाई तुलना गरेर भन्न खोजेको हो । हालको नेकपा र पूर्व एमाले तथा माओवादीले संघीय संसदमा यस्ता अलोकतान्त्तिक हर्कतहरू कहिले बजेट भाषणमा त कहिले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्ती हुँदा भलिभाँती गरेका छन् ।

हूलहुज्जत, तोडफोड, मारकाट र मूढे बलमा विश्वास राख्नेहरूलाई यो कार्य सामान्य होला तर प्रजातन्त्रमा विश्वास गर्ने प्रजातान्त्रिक पार्टीका मतदाताहरूलाई कसमेकम यी र यस्ता प्रकृतिका कार्य शोभनीय हुँदैनन् ।

केही दिनअघि मात्र बुटबलमै राजधानीकै सबाललाई लिएर भएको आन्दोलनमा एउटी कामकाजी महिलाको स्कुटरलाई बलजफ्ती खोसेर जलाउने काम भयो । सो कार्य पनि नेपाली काँग्रेसका कार्यकर्ताहरूबाट भएको भन्ने खबर सञ्चार माध्यममा आएको छ ।

एउटा अर्को उखान छ –‘कहिले झिल्के टाँडमा, कहिले झिल्के आँगनमा’ । यतिखेर नेपाली काँग्रेस आँगनमा र नेकपा टाँडमा रहेको भूमिकामा छ । घुमिफिरी रुम्जाटार भनेझैँ फेरि पालो काँग्रेसको पनि आउन सक्छ । उसले प्रदेश सरकारको डाडु पन्यौ लिएका बेलामा फ्लोरमा नेकपा र सडकमा नेकपा हुन सक्छ त्यस्तो बेलामा अहिले भएको कार्य नदोहोरिएला भन्न सकिन्नँ । अहिलेका यी दुवै शक्तिहरू यसैगरी दीक्षित भएका शक्तिहरू हुन् । यिनीहरूलाई जनाता घुमाइफिराई पाँचपाँच वर्ष सत्ताको चाबी नदिई सुखै छैन ।

अहिले नयाँ भनिएका शक्तिहरू अल्पमत कै सही सरकार गठन गर्ने गरी संसदमा आफ्नो उपस्थिति राख्न सक्ने भएकै छैनन् । यो अवस्थामा जनताले ‘फटाहा मध्येको कम फटाहालाई छान्नु पर्ने बाध्यता छ’ जुन दिन जनताको हातमा फटाहा र राम्रोमध्ये एउटालाई छान्ने विकल्प आउँछ त्यो दिन यी ठूला भनिएका पार्टीहरू आफैँ बढारिन सक्छन् ।

भारतको विधान सभाको चुनावमा दिल्ली क्षेत्रबाट त्यहाँका भाजपा र काँग्रेस चुनावमा बढारिएर जसरी शून्य भए त्यस्तो स्थिति नेपालमा पनि नआऊला भन्न सकिन्नँ ।

नेपालमा त्यो अवस्था विस्तारै विस्तारै आउन लागेको छ । अहिले युवाहरू काम र माम छोडी विदेशबाट घर फर्केको बेला छ । यो बेलामा नयाँ शक्ति भनिएका साझा पार्टी, विवेकशील नेपाली, संघीय समाजवादी र अरु नयाँ विचारका पार्टीहरूले युवाहरूलाई काम र माम दिने प्रतिबद्धता गरे भने युवाहरू सबै त्यतैतिर तानिन सक्छन् ।

यो माहोल अबको २०७९ को संघीय स्थानीय र प्रदेशको चुनावमा नआउला भन्न सकिन्नँ । त्यसैगरी त्यसको ठिक एक वर्षपछि हुने संघीय चुनावमा पनि नयाँ खाले शक्तिहरू जुरुकजुरुक उठेभने नेपालको राजनीतिको कायापलट हुन सक्छ ।

अहिले विश्वभरि युवा, जुझारु, पढेलेखेका, टेक्नोक्र्याट, प्राविधिक र सफल मानिसहरू राजनीतिमा जाने र व्यवस्थापन चुस्तदुरुस्त बनाएर शासन सत्ता सञ्चालन गर्ने परिपाटीको विकास भएको छ । नेपालले पनि कतै त्यही दिन देख्न लाग्या त होइन ? प्रश्न गर्ने बेला अएको छ ।

अहिले नेपालमा पञ्चायतका पछिल्ला तीस वर्ष र बहुदलका यी तीस वर्षहरूका बीचमा लेखमा, भाषणमा, अन्तर्वार्ताहरूमा र अनुसन्धानका फेहरिस्तहरूमा तुलना भैरहेको छ । केही गरी देशका युवाहरूमा ती कुराहरू नबिर्सिने गरी मन मुटुमा छाप प¥यो भने एकपटक फेरि नेपालमा नयाँलाई जिताउने लहर नै नचल्ला भन्न सकिन्नँ ।

गरिब, बेरोजगार, भोकमरीले पीडित, अशिक्षित र अचेतनशील जनताहरूको कूल जनसंख्याको ६० प्रतिशत भएका मुलुकहरूमा प्रत्येक दसदस वर्षहरूमा अनेकन नामबाट क्रान्तिहरू भएका र सत्ता पलट भएका कैँयौं उदाहरणहरू विश्वका अनेकों देशहरूमा छन् ।

के नेपाल मात्र यो शाश्वत पक्षबाट अछुतो रहन सक्ला र ? यतिखेर हालै बुटबलमा सडक र सदन दुवैमा देखिएका यी तस्वीरहरूले न्यायप्रेमी, प्रजातन्त्रवादी र समानताका पक्षधर जनताका हृदयमा यो प्रश्न आँधीझैँ उठाएको छ ।

जसको जवाफ हिजो नेकपाका नेताहरूसँग थिएन भने अहिले यतिखेर चाहिँ नेपाली काँग्रेसका नेताहरूसँग छैन । जनताहरू भने सुस्तसुस्त आवाजमा भन्न थालेका छन् –‘गणतन्त्रले भेष खायो र संघीयताले देश खायो ।’

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: