८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

देशलाई ज्ञानेन्द्र पथमा लैजाने ओलीको तयारी : डा. भट्टराई



गोरखा : असोज २१, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली चरम निरंकुश भएको बताएका छन् । बुधबार गृहजिल्ला गोरखा पुगेका नेता भट्टराईले पत्रकारसँग कुराकानी गर्दै ओलीले देशलाई निरंकुशतातिर लगेको बताए । यो आरोप मात्र नभई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा चलेको बहसले पुष्टि गर्ने नेता भट्टराईले बताए । प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने, संकटकाल घोषणा गर्ने र देशलाई ज्ञानेन्द्र शाहको बाटोतिर लैजाने कदम चालेका कारण अन्तरविरोधलाई टालटुल पार्ने काम भएको सूचना आफूले पाएको उनले दाबी गरे ।

अहिले पनि लोकतन्त्र सुरक्षित नभएको र देश निरंकुशतावादीको बन्धक बनेको उनले दाबी गरे । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ठोस काम गर्न नसकेको तर विना योजनाको लकडाउनले अर्थतन्त्र चौपट भएको भट्टराईले बताए । ‘उद्योगधन्दा, व्यवसाय सबै चौपट छन्, श्रमिकहरु रोएर बसेका छन्, तर सरकारले समस्या समाधानका लागी ठोस नीति योजना ल्याउन सकेको छैन,’ उनले भने । राजनीतिक नेतृत्व, प्रशासन र ठेकेदारको मिलेमतोका कारण पूर्वाधार क्षेत्रमा पनि काम हुन नसकेको उनले बताए । अनुगमन गर्ने र ताकेता लगाउने काम सम्बन्धित कार्यालय प्रमुखको भएपनि वेवास्ता गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !