७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

किन लामो समयसम्म रहन्छ कोरोनाको लक्षण ?



काठमाडौं । अधिकांश कोरोना भाइरस (कोभिड–१९) का संक्रमितमा केही तथा सामान्य लक्षण मात्र देखिन्छ । थोरै मानिसमा यसको गम्भीर लक्षण पनि देखिन्छ र यो लामो समयसम्म पनि जारी रहन्छ । उनीहरुलाई अत्याधिक थकान, निरन्तरको दुखाइ र श्वासप्रश्वासमा समस्या लामो समयसम्म पनि देखिनसक्छ ।

लामो समयसम्म यस्ता लक्षण देखिने अवस्थालाई ‘लङ कोभिड’ भनिन्छ । यो प्रभावको कारण सामान्य अवस्थामा फर्किँदा पनि मानिसहरु प्रभावित बन्न सक्छन् ।

अहिलेसम्म महामारीबाट कसरी मानिसहरुलाई बचाउने भन्नेमा धेरैको ध्यान गएको छ । तर, कोरोना संक्रमितहरुलाई देखिने सक्ने दीर्घकालीन असरको विषयमा चासो दिइएको छैन । यस्तोमा किन कोभिडको असर लामो समयसम्म रहन्छ वा सबै मानिस किन पूर्णरुपमा निको हुन सक्दैनन् भन्ने चासो बढेको छ र यसले धेरैमा आशंका पनि उब्जाएको छ ।

लङ कोभिड के हो ?

अहिलेसम्म चिकित्सकीय भाषामा लङ कोभिडको परिभाषा छैन । साथै यसलाई परिभाषित गर्ने लक्षणहरुको सूची पनि बनेको छैन । त्यसैले लङ कोभिड देखिएका दुई मानिसहरुको अनुभव पनि फरक–फरक हुनसक्छ । धेरैको साझा लक्षण भने अत्यधिक थकान हुनु हो ।

अन्य लक्षणहरुमा श्वासप्रश्वासमा समस्या, खोकी, जोर्नी दुख्ने, जीउ दुख्ने, सुन्ने, देख्ने, गन्ध र स्वाद थाहा पाउने क्षमतामा कमी हुने, मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिनेजस्ता लक्षण रहेका छन् ।

त्यसका साथै डिप्रेसन, रिसाउने र राम्रोसँग सोच्न नसक्नेजस्ता समस्याहरु पनि देखिएको केहीले बताएका छन् । यस किसिमका लक्षण देखिएसँगै मानिसको जीवनशैलीमा ठूलो असर पर्नसक्छ । ‘यति धेरै थकान मैले अहिलेसम्म कहिल्यै पनि अनुभव गरेको थिइनँ’, लङ कोभिडको समस्या भएकी एक महिला जेड ग्रे–क्रिस्टीले बताइन् ।

लङ कोभिडको समस्या आईसीयूमा पुगेर फर्किएका संक्रमितलाई मात्र नभई तुलनात्मक रुपमा सामान्य किसिमको लक्षण देखिएका मानिसलाई पनि हुनसक्छ । ‘लङ कोभिड हुन्छ भन्नेमा अब हामीलाई कुनै शंका छैन’, एक्जेटर युनिभर्सिटीका प्राध्यापक डेभिड स्ट्रेन भन्छन् । उनले आफ्नो क्लिनिकमा लङ कोभिडको समस्या भएका बिरामीहरुको उपचार गराइरहेका छन् ।

कति मानिसलाई यस्तो समस्या छ ?

रोमको सबैभन्दा ठूलो अस्पतालमा १४३ जना फलोअपका लागि आउने कोरोनाबाट निको भएका मानिसहरुमा गरिएको अध्ययनको क्रममा ८७ प्रतिशत मानिसलाई करिब दुई महिनासम्म कम्तीमा एउटा लक्षण लङ कोभिडको थियो । जसमध्ये आधाभन्दा धेरैलाई अझै पनि थकानको समस्या थियो ।

यद्यपि यस किसिमको अध्ययन केही अल्पसंख्यक समूहमा मात्र गरिएको थियो । बेलायतमा ४० लाखभन्दा धेरैले प्रयोग गर्ने कोभिड सिम्टम ट्र्याकर एपका अनुसार १२ प्रतिशत मानिसमा ३० दिनपछि पनि कोरोनाको लक्षण जारी रहने गरेको छ । प्रकाशित हुन बाँकी पछिल्लो तथ्यांकले भने ५० जनामध्ये एक जनालाई ९० दिनसम्म पनि लङ कोभिडको लक्षण देखिएको छ ।

गम्भीर बिरामी परेकालाई मात्रै लङ कोभिडको लक्षण देखिन्छ ?

कोरोना संक्रमणबाट गम्भीर बिरामी भएकामा मात्रै लङ कोभिडको समस्या देखिन्छ भन्ने कुराको पुष्टि पछिल्लो तथ्यांकले गर्दैन । डब्लिनमा गरिएको एक अध्ययनको क्रममा संक्रमित भएको १० सातापछि पनि संक्रमितमा थकानको समस्या देखिएको थियो । एक तिहाइ मानिसहरु अझै काममा फर्किन सकेका थिएनन् ।

महत्वपूर्ण कुरा के भने अहिलेसम्म डाक्टरहरुले कोरोनाको गम्भीर लक्षण देखिनु र थकानको बीचमा कुने सम्बन्ध पत्ता लगाउन सकेका छैनन् । यद्यपि अत्यधिक थकान हुनु लङ कोभिडको केवल एउटा लक्षण हो । लिस्टर युनिभर्सिटीका प्राध्यापक क्रिस ब्राइटलिङ निमोनिया देखिएका मानिसहरुको फोक्सोमा समस्या हुने हुनाले उनीहरुलाई धेरै समस्या हुने बताउँछन् ।

कसरी लङ कोभिडको समस्या देखिन्छ ?

अहिलेसम्म यसको कुनै स्पष्ट परिभाषा छैन । तर यसका सम्भावना धेरै छन् । कोरोना भाइरस हाम्रो शरीरको अधिकांश भागमा सकिएको तर कुनै स्थानमा बाँकी भएको अवस्थामा पनि यस्तो समस्या देखिन सक्छ । यदि लामो समयसम्म पनि पखालाको समस्या देखिए पेटमा भाइरस बाँकी छ भन्ने बुझ्न सकिन्छ भने बास्ना थाहा नपाउने समस्या छ भने भाइरस स्नायू तन्तुमा बाँकी हुन सक्छ भनेर बुझ्नुपर्छ । त्यसैले जे समस्या हो, सोही अंगसम्बन्धी समस्या देखिने किंग्स कलेज लण्डनका प्राध्यापक टिम स्पेक्टर बताउँछन् ।

केही मानिसहरु भने कोरोना संक्रमित लागेपछि मानिसको प्रतिरक्षा प्रणाली नै सामान्य अवस्थामा नआउने भएकाले मानिसको स्वास्थ्य अवस्था कमजोर हुने बताउँछन् । कोरोनाले मानिसको कुनै अंगले गरिरहेको काममा पनि अवरोध सृजना गर्न सक्छ । यसअघि सार्स र मार्सको संक्रमण भएका मानिसहरुको फोक्सोमा पनि लामो समयसम्म समस्या देखिएको थियो । यद्यपि कोभिडले भने मानिसको मेटाबोलिक प्रणालीमा नै असर पार्नसक्ने देखिएको छ ।

धेरै मानिसहरुले संक्रमणपछि आफ्नो शरीरमा सुगरको मात्रालाई नियन्त्रणमा राख्न नसकेको बताएका छन् । साथै अहिले दिमागमा पनि कोरोनाको असर पर्ने संकेत पाइएको छ । तर, यस विषयमा अध्ययन भइरहेको छ । यद्यपि लङ कोभिडको वास्तविक कारण पत्ता नलाग्दासम्म यसको उपचार कसरी गर्ने भन्ने पत्ता लगाउन सकिँदैन ।

पूर्णरुपमा मानिसहरु निको हुन सक्छन् ?

समयसँगै लङ कोभिड भएका मानिसको संख्या पनि घट्दो क्रममा देखिएको छ । यसको अर्थ निश्चित समयपछि यो समस्या हराउँछ भन्ने हो । तर, कोभिड–१९ आएको लामो समय नभएकाले दीर्घकालीन अनुमान गर्न कठिन हुने विशेषज्ञहरु बताउँछन् ।

यद्यपि अहिले निको भएका मानिसहरुलाई पनि जीवनकालभर कोरोनासँग सम्बन्धित कुनै पनि समस्या देखिन सक्ने प्राध्यापक ब्राइटलिङ बताउँछन् । –स्रोत : बीबीसी


प्रतिक्रिया दिनुहोस !