८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

भेरि अस्पतालका लेखा अधिकृतसहित १५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्जस्थित भेरी अस्पतालका १५ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले अस्पतालका लेखा अधिकृत सन्तोषप्रसाद आचार्यसहित १५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगको अनुन्धानमा सामान खरिदबापत् कमिसन लिएको पाइएपछि लिने र दिने दुबै पक्षलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । अस्पतालको सामान खरिदमा बढी मूल्य देखाएर कमिसन लिएको अनुसन्धानबाट खुल्न आएपछि आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले लेखा अधिकृत माधवप्रसाद आचार्य, कम्प्युटर अपरेटर अरुणराज खनाल, लेखापाल ईन्द्रबहादुर खत्री र सहलेखापाल प्रेमबहादुर खत्रीलाई १९ लाख १३ हजार ७० रुपैयाँ विगो दावी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । उनीहरुले आर्थिक वर्ष २०७६÷०७७ मा विभिन्न सेवा प्रदायक फर्म तथा पसलहरुबाट १९ लाख १३ हजार रुपैयाँ बराबरको नगद र जिनसी बापत् कमिसन लिगेको अनुसन्धानबाट खुल्न आएको अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारले अनुसन्धानका क्रममा खोजतलास गर्दा अस्पतालका कम्प्युटर अपरेटर अरणराज खनाललाई १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ स्रोत नखुलेको सम्पत्तिसहित नियन्त्रणमा लिइएको थियो । खनाललाई नियन्त्रणमा लिए लगतै आयोगले अस्पतालका लेखा अधिकृतसहितको अन्य कर्मचारीलाई बयानमा बोलाएको थियो । साथै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम बरामद भएको १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ र तीन थान मोबाइल बरामद गर्न माग गरेको छ ।

त्यस्तै ११ वटा फर्मका सञ्चालकलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुलाई एक लाखदेखि २० हजारसम्म जरिवाना गर्न माग गरेको छ । आयोगले कमिसन दिएर सहयोग गर्ने नेपाल स्टोर नेपालगञ्जका संचालक साहिद हुसैनलाई २० हजार विगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै लुम्बिनी स्टेशनरी नेपालगञ्जका संचालक पूर्णिमा भण्डारीलाई ४५ हजार विगो दावी सहित मुद्दा दायर गरेको छ ।

आयोगले कमला इन्टरनेशनल तथा कृष्ण इन्टरनेशनल नेपालगञ्जका दिपेन्द्र अग्रवाललाई ३६ हजार, राजेन्द्रकुमार सोनीलाई ९९ हजार ६ सय,सुदिप रिजाललाई ६० हजार, रोशनी स्टिल तथा फर्निचर उद्योगका व्यवस्थापक ईजामुद्दिन खाँ लाई ६० हजार, अब्दुल अलि अन्सारीलाई ५६ हजार, पंकजकुमार श्रेष्ठलाई ६१ हजार, ज्ञानबहादुर वलीलाई ९६ हजार,कमालुद्दिन मुकेरीलाई १ लाख ६१ हजार ५ सय रुपैयाँ, र अविनासकुमार अग्रवाललाई १ लाख १८ हजार ६ सय रुपैयाँ विगो दावी सहित भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जानकारी दिएको छ । उनीहरुले सामान किने वापत् अस्पतालका कर्मचारीहरुलाई कमिसन बापत सो रकम दिएको आयोगको अभियोगपत्रमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !