७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

भोकमरीविरुद्धको लागि विश्व खाद्य कार्यक्रमले पाउने भयो यो वर्षको नोबेल शान्ति पुरस्कार



एजेन्सी। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले यस वर्षको नोबेल शान्ति पुरस्कार जितेको छ। भोकमरी नियन्त्रणको प्रयास गरी शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ ।

नोबेल शान्ति पुरस्कार पाउने डब्लुएफपी १०१ औँ संस्था बनेको छ । यसअघि १०० पटक संस्था वा व्यक्तिले सो पुरस्कार पाएका छन् । पुरस्कार स्वरुप डब्लुएफपीले ८ लाख ७५ हजार पाउण्ड प्राप्त गर्ने छ ।

पुरस्कार पाएको डब्लुएफपीले सम्मानबाट आफूहरु अति आभारी भएको बताएको छ । यो वर्ष नोबेल शान्ति पुरस्कारका लागि १०७ संस्था र २११ जना व्यक्ति मनोनित भएका छन् । डब्लुएफपीका प्रमुख डेविड बिजलेले पुरस्कार आफूहरुले पाएको घोषणा हुँदा आश्चर्यमा परेको बताएका छन्।

उनले बिबिसीसँग भनेका छन्, ‘जीवनमा पहिलोपटक म अभिव्यक्ति बिहीन अर्थात अवाक भएँ । समस्यामा परेका विश्वभरका मानिसहरुको हितका लागि आफूलाई अग्रपंक्तिमा राख्ने डब्लुएफपीको हरेक एकका लागि यो पुरस्कार हो र उनीहरुको कामको सम्मान हो । यसले राम्रो सन्देश प्रवाह गरेको छ । हामीले अझै धेरै गर्नु छ ।’

जर्मन चान्सलर एङ्गेला मर्केलसहितले डब्लुएफपीलाई बधाई दिएका छन्। यो वर्ष मनोनयनमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र जलवायु अभियन्ता गे्रता तुन्बेर पनि थिए । उनीहरुलाई पुरस्कारको होडमा अघि ठानिएको थियो । नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परी अन्तिम सूचिमा परेकाहरुको नाम नियम अनुसार ५० वर्षसम्म सार्वजनिक गरिँदैन ।

खाद्य सुरक्षा शान्तिको प्रमुख आधार रहेको र डब्लुएफपीले त्यसका लागि महत्वपूर्ण काम गरेको नोबेल शान्ति पुरस्कार समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !