७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

३ बर्षभित्र संचालनको तयारीमा गेटा मेडिकल कलेज



धनगढी । निर्माणाधिन गेटा मेडिकल कलेजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। लकडाउनका बेला पनि स्वास्थ्यमा सावधानी अपनाएर कामलाई निरन्तरता दिएपछि मेडिकल कलेजको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। आगामी आर्थिक वर्षभित्रै अस्पतालबाट सेवा शुरू गर्ने तयारीका साथ निर्माण कार्यलाई तीब्रता दिइएको छ। गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका अनुसार कलेजको सात वटा प्याकेजमा निर्माण थालिएकोमा ६ वटा प्याकेजमा ८० प्रतिशत भौतिक प्रगति भएको छ। एउटा प्याकेजमा झण्डै ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले बताए।

उनले पढाइ हुने कलेज भवनको ९५ प्रतिशत निर्माणको काम सकिएको बताउँदै अस्पताल भवनको ७० प्रतिशत र प्रशासनिक भवनको ८५ प्रतिशत निर्माण सकिएको बताए। मेडिकल कलेजमा आवास गृहको निर्माणमा भने केही ढिलाइ भइरहेको छ। कार्यकारी निर्देशक साउदले अहिले २३ वटा भवनको निर्माण भइरहेको बताउँदै सडक र तटबन्धको कार्यसमेत जारी रहेको बताए।

राष्ट्रिय गौरवको योजनाका रूपमा २०७३ साल वैशाखदेखि निर्माण शुरू भएको गेटा मेडिकल कलेज निर्माणमा ७० प्रतिशत भौतिक प्रगति भएको निर्माण समितिले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !