१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पर्यटन व्यवसाय प्रवर्दनका लागि सार्क पर्यटन बोर्ड गठन गर्न सुझाव



काठमाडौं । दक्षिण एसियाली मुलुकका केही पर्यटन विज्ञले कोरोना भाइरसको महामारीबाट प्रताडित पर्यटन व्यवसायलाई त्राण दिन एउटा क्षेत्रीय निकाय खडा गर्न सुझाएका छन्। देशभित्रको पर्यटन प्रवर्दनमा सघाउन नेपाल पर्यटन बोर्डजस्तै सार्क क्षेत्रीय पर्यटन निकाय स्थापना गर्न उनीहरूले सुझाएका हुन्। ‘दक्षिण एसियाली पर्यटनमा कोभिड १९ को प्रभाव र यसको पुनरोत्थान रणनीति’ विषयक भर्चुअल अन्तक्रियामा विज्ञले यस्तो बताएका हुन्। उनीहरूले क्षेत्रीय पर्यटनलाई सुदृढ गर्नु अत्यावश्यक भएको बताए।

नेपालको पुर्व पर्यटनमन्त्री याङ्किला शेर्पाले सन् २०२० को पहिलो ६ महिनामा विश्व पर्यटन ६० प्रतिशतभन्दा धेरैले खुम्चिएको बताइन्। उनले नेपालमा २६ सयभन्दा बढी ट्रेकिङ कम्पनी अहिले आर्थिक संकटमा परेको बताइन्। पर्यटकको बुद्धिस्ट सर्किटजस्ता सम्भाव्य पर्यटन बजारलाई पुनःजाग्रित गर्नुपर्ने र क्षेत्रीय स्तरमा नयाँ पर्यटन गन्तव्यको पहिचान गरेर पूर्वाधार विकासमा सहकार्य गर्नुपर्ने उनले बताइन्। इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टकी प्राध्यापक रुपा चन्दले पनि दक्षिण एसियाली क्षेत्रीय पर्यटन करिडोर बनाउनुपर्ने बताइन्। त्यस क्षेत्रमा कोरोना भाइरस विरुद्धको स्वास्थ्य सतर्कतालाई बढी नै ध्यान दिएर पर्यटकलाई विश्वस्त पार्न पनि उनले सुझाइन्।

भुटानको पर्यटन परिषद्का महाप्रबन्धक दोर्जी ध्राधुलले दक्षिण एसियाका अन्य मुलुकलाई भुटानको पर्यटन नीति पछ्याउन आग्रह गरे। भुटानले संख्या थोरै, तर खर्च बढी गर्ने ‘लो–भोल्युम, हाई–भ्याल्यू’ पर्यटक भित्र्याउने रणनीति लिएको छ। उनले अहिले पनि पदयात्रा गर्नेका लागि गन्तव्य सुरक्षित रहेको भन्दै भौतिक पूर्वाधार र डिजिटल सुविधा बढाउनुपर्ने बताए। जुनसुकै ठाउँबाट पनि डिजिटल भुक्तानी गर्ने सुविधा दिन उनले आग्रह गरे। त्यस्तै पर्यटन श्रमिकलाई थप तालिम दिएर भए पनि उच्चस्तरीय सेवा दिनुपर्ने उनले बताए।

माल्दिभ्सको बजार व्यवस्थापन कम्पनीका प्रबन्धनिर्देशक थोयिब मोहमदले श्रीलंका, माल्दिभ्सजस्ता मुलुकले ‘एक टापु, एक रिसोर्ट’ खालको रणनीति लिनुपर्ने बताए। भुटान तथा नेपालजस्ता मुलुकले पर्वतीय पर्यटन र पदयात्रालाई जोड दिनुपर्ने उनले बताए। श्रीलंकाको पर्यटक होटेल संघका पूर्वअध्यक्ष श्रीलाल मिथ्थापालाले भने कोरोना संक्रमणबाट बच्न मापदण्डको पालना गर्ने दक्षिण एसियाभरका होटेललाई एक किसिमको ‘सुरक्षा प्रमाणपत्र’ दिने व्यवस्था गर्न सकिने सुझाए।


प्रतिक्रिया दिनुहोस !