१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

साताव्यापी रुपमा विश्व खाद्य दिवस मनाइँदै



काठमाडौँ । ‘हाम्रो पहल: दिगो कृषि, पोषिलो आहार’को नारासाथ यसपालि ४०औँ विश्व खाद्य दिवस साताव्यापी मनाइने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग र कृषिका लागि खाद्य अभियानको सहकार्यमा आइतबारदेखि नेपालमा विश्व खाद्य दिवस मनाउने भएको छ । कृषि विभाग र अभियानले शनिबार गरेको संयुक्त पत्रकार सम्मेलनमार्फत खाद्य दिवस मनाउनेबारेमा जानकारी गराएको छ । यस सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन कृषि सञ्चार र खाद्यका सवालको सेरोफेरोमा रहेर कृषिमा नयाँ सञ्चार प्रविधिको प्रयोग, कृषिमा आमसञ्चार माध्यमको भूमिका, रैथाने खाना, पर्यटन र पत्रकारितालगायत खाद्य र खेतीका तत्कालीन सवालहरूमा प्रस्तुति र अन्तक्र्रिया हुने बताइएको छ ।

त्यसैगरी दोस्रो दिन कोभिड–१९, खाना र खेतीपाती विषयमा प्रस्तुति र अन्तक्र्रिया, तेस्रो दिन भूमि किसानको खाद्य अधिकार, शिक्षा र कृषि, चौथो दिन कर्णाली कृषिका मुद्दाबारे छलफल गरिने छ । त्यसैगरी पाँचौँ दिन खाना र खेतीपाती ः ग्रामीण महिला किसानको योगदान र जैविक विविधता, पोषण तथा रैथाने बालीहरूको विषयमा छलफल र अन्तक्र्रिया सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमको अन्तिम दिन देशभरिबाट पाँच उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम पनि रहेको कृषि विभागका सूचना अधिकारी महादेव पौडेलले जानकारी दिनुभयो । यसैबीच अक्टोबर १६ मा रोजगार गुमाएका एवं विपन्न परिवारलाई खाना खुवाउने कार्यक्रम पनि रहेको उहाँले जानकारी दिनुभयो ।

विभागका महानिर्देशक गोविन्दप्रसाद शर्माले आगामी दिनमा यस किसिमको कार्यक्रमलाई देशव्यापी रूपमा सञ्चालन गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार अहिले जनसाधारण स्वास्थ्य, खानेकुरा, आम्दानी र जीवनयापनका आधारभूत पक्षमा महामारी कोभिड–१९ ले ल्याएको समस्यासँग जुधिरहेका छन् । यस किसिमको परिस्थितिको सामना गर्ने आधार तयार पार्नुपर्ने तत्काल र दीर्घकालीन आवश्यकता पनि हो । यसले आमरूपमा वातावरण अनुकूल, स्थानीय समुदायको खाद्य संस्कृतिमा आधारित शिक्षा र स्वास्थ्यका आधारभूत खर्च परिपूर्ति गर्न किसानको आम्दानी बढाउन सक्षम रोजगारीमूलक कृषि पद्धतिको जग बनाउनुको विकल्प नरहेको विभागका महानिर्देशक डा.गोविन्द शर्माले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !