१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

उपत्यकाका अस्पताल काेराेना संक्रमितले भरिए, सरकार भन्छ- अन्तिम अवस्थामा मात्रै अस्पताल आउनु



काठमाडौं। काठमाडौं उपत्यकामा दैनिक १५ सयदेखि २ हजारको हाराहारीमा नयाँ कोरोना संक्रमितको संख्या थपिदै छ। कोभिड फोकस अस्पताल संक्रमितले भरिएका छन् । बेड भरिएपछि अस्पतालले नयाँ संक्रमित राख्न सकेका छैनन् ।

टेकु अस्पताल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु कोरोना फोकस अस्पताल हो । यहाँ कोरोना संक्रमितको चाप उच्च हुन्छ । परीक्षणका लागि मात्र यहाँ दिनको ५ सयदेखि १ हजार जनासम्म आइपुग्छन् । अस्पतालको बेड पूरै भरिएको छ । ५० जना क्षमता रहेको टेकुमा ४९ जना संक्रमित छन् । तीमध्ये ३६ जना संक्रमितलाई अक्सिजन र भेन्टिलेटरको प्रयोग गरिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । ‘अस्पतालको क्षमता बढाउँदै छौँ’, उनले भने, ‘१० वटा बेड फेरि थप्दै छौँ ।’

हरेक दिन २ हजार संक्रमित देखिए पनि सबै सिरियस नरहेको उनले बताए । ‘२ हजारमध्ये १० प्रतिशतलाई अस्पतालमा राख्नुपर्ने हुन्छ । ३ प्रतिशतलाई आईसीयू र १/२ प्रतिशतलाई भेन्टिलेटर चाहिने हुन्छ । २ हजारलाई नै अस्पताल आवश्यक पर्दैन’, उनले भने ।

वीर अस्पताल

वीर अस्पतालमा ४५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । अहिले वीरको क्षमता ४५ जनाको मात्र छ । ‘अहिले सबै बेडमा संक्रमित छन्’, अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भने, ‘२ सय ५० बेड क्षमताको बनाउने तयारी गर्दै छौँ । अरु वार्डलाई पनि अब प्रयोग गर्छाैँ ।’

एउटा बेड खाली गरेर अर्को संक्रमित राख्न २ हप्ता कुर्नुपर्ने उनले बताए । ‘सरकारको नीतिअनुसार एउटा संक्रमित १४ दिनमा डिस्चार्ज हुन्छ । लक्षण छ भने केही दिन अझै बढी राख्नुपर्छ । लक्षण छैन भने १४ दिनमा पीसीआर नगरी डिस्चार्ज गर्छाैँ’, उनले भने ।

त्रिवि शिक्षण अस्पताल

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा बेड भरिएपछि टुल र इमर्जेन्सीमै राखेर कोभिडका बिरामीको उपचार भइरहेको छ । १ सय ६ जनाको क्षमता रहेको टिचिङमा १ सय २० जना संक्रमितको उपचार भइरहेको छ । ‘बेड भरिएको छ । राख्ने ठाउँ छैन । कतिपय संक्रमितलाई टुलमा राखेर अक्सिजन दिइरहेका छौँ’, अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले भने, ‘आईसीयू बेड नभएर दुई जना बिरामी इमर्जेन्सीमा बस्नुभएको छ ।’

एपीएफ अस्पताल

सशस्त्र प्रहरीको अस्पतालमा २ सय जना कोभिडका बिरामी छन् । क्षमताअनुसार नै बिरामी राखिएको अस्पतालले जनाएको छ । ‘हाम्रो २ सयको क्षमता हो । सबै बेड भरिएका छन्’, अस्पतालका डा. प्रविन नेपालले भने, ‘अक्सिजन प्रयोग गर्नुपर्ने ४५ जना र भेन्टिलेटरमा सात जना संक्रमितलाई राखिएको छ । डिस्चार्ज भएलगत्तै अरु संक्रमित थपिन्छन् ।’

पाटन अस्पताल

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा पनि संक्रमितले बेड भरिएको छ । अस्पतालमा १ सय ४८ जना संक्रमित छन् । १४ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

आयुर्वेद अस्पताल

कीर्तिपुरको आयुर्वेद अस्पतालमा १ सय ८७ जना संक्रमित छन् । पुरुष १ सय ३० जना, महिला ५७ जना र पाँच जना बालबालिका छन् । आयुर्वेद अस्पतालको क्षमता २ सय जनाको हो । अस्पतालकी डा. नानु गुरुङका अनुसार अहिले चार जनालाई अक्सिजन प्रयोग गरिएको छ । आयुर्वेद अस्पतालमा यसअघि लक्षण नभएकालाई मात्र राखिएको थियो । अहिले लक्षण भएका संक्रमितलाई पनि राख्न थालिएको छ ।

कति छन् भेन्टिलेटर र अक्सिजन ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसका गम्भीर संक्रमितलाई उपचार गर्नका लागि काठमाडौँ उपत्यकामा १८१ आईसीयू र ७६ भेन्टिलेटर छन् । देशभर २ हजार ६ सय आईसीयू र ९ सय भेन्टिलेटर छन् ।

सरकार भन्छ : अन्तिम नभएसम्म अस्पताल नआउनू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा बेड भरिएकाले अन्तिम अवस्था नभएसम्म नआउन भनेको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भनेका थिए, ‘रुघाखोकी लाग्दैमा र ज्वरो आउँदैमा अस्पताल जानेको संख्या बढेको छ । कसैलाई पनि सास फेर्न गाह्रो भएमा, बेहोस भएमा, पिसाब नभएमा वा कम भएमा मात्र अस्पताल जानुहोला ।’

संक्रमित घरघरमै

अस्पतालको बेड भरिएपछि संक्रमितलाई घरघरमै राखिएको छ । मंगलबारको तथ्यांकअनुसार काठमाडौंमा ८ हजार ७ सय सात जना, भक्तपुरमा १ हजार २ सय १७ र ललितपुरमा २ हजार २ सय २८ जना संक्रमित होम आइसोलेसनमा छन् ।

१० दिनमा उपत्यकामा थपिए १८ हजार संक्रमित

पछिल्लो दिनमा काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढिरहेको छ । १० दिनको अवधिमा १८ हजार भन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा १८ हजार २ सय ८० संक्रमित थपिएका छन् ।

२७ असोज– २१२९
२६ असोज –२२८३
२५ असोज– १४१६
२४ असोज– २६७२
२३ असोज– १४०९
२२ असोज– २५४०
२१ असोज– १६८४
२० असोज– १०१७
१९ असोज– १५३१
१८ असोज– १५९९

स्रोत- शिलापत्र


प्रतिक्रिया दिनुहोस !