Friday, September 27, 2024

ट्रेन्डिङ :

विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस

काठमाडौँ । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार्यक्रमको समुदघाटन गर्दै कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको आर्थिक समृद्धिको लागि लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताए ।

उनले देशको आर्थिक तथा सामाजिक विकासलागि शान्ति अपरिहार्य रहे जस्तै शान्ति विना  पर्यटनको विकास समेत सम्भव नभएको धारणा राखे । “पर्यटनलाई नेपालको विकासको इन्जिनको रुपमा लैजान सकिन्छ । यसको लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जाने प्रतिवद्द्ता यो अवसरमा व्यक्त गर्न चाहन्छु ।” उनले भने ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेको उल्लेख गर्दै पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्ने गरि राज्य र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने बताए ।

“ यो वर्षको विश्व पर्यटनको नारा पर्यटन र शान्ति छ । पर्यटनका लागि शान्ति अपरिहार्य छ । एकातिर जलवायु परिवर्तनले विश्व आक्रान्त बनेको अवस्था छ । यसका असरलाई कम गर्दै लैजानु पर्ने छ अवस्था एकातिर छ भने अर्कोतर्फ विश्वले नै शान्ति खोजिरहेको छ । विश्व शान्तिको नै पर्यटनको लागि आधार बन्न सक्छ ।” उनले भने ।

मन्त्री पाण्डेले देशको पर्यटनको विकासका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई बलियो बनाउनुको विकल्प नरहेको उल्ल्ेख गर्दै नीतिगत सुधार र व्यवसायिक बजार योजना सहित निगम सुधार गर्नु पर्ने बताए ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पर्यटनको विकासको लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सरकारले पर्यटन मैत्री नीति बनाउने तर्फ काम गरिरहेको बताए ।

मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा.गणेश प्रसाद पाण्डेले पर्यतीय पर्यटनमा नेपाल विश्वमा नै अग्रणी रहेको उल्लेख गर्दै पर्यटनबाट थप लाभ लिन सबैपक्षबीच सहकार्य आवश्यक रहेको बताए ।

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले पर्यटन र शान्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै पर्यटनमैत्री नीतिले मात्रै पर्यटनको विकास सम्भव भएको बताए ।

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल क्षेत्रमा अर्बौंको लगानी  रहेका र करिब १० लाख व्यक्तिलाई रोजगारी सिर्जना गरेको अवस्थामा राज्यले पर्यटनलाई प्राथमिकतामा राखेर अगाडी जानु पर्ने धारणा राखे ।

होटल व्यवसायी संगीता श्रेष्ठले नेपालमा पर्यटनको व्यापक सम्भावना भएकोले पर्यटनबाटै समृद्धिको यात्रा तय गर्न सकिने धारणा राखिन् ।

४५औं  विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । यसैबीच दिवसकै अवसरमा आज जजिरा एअरलायन्स र फ्लाई दुवईबाट नेपाल आउने पर्यटकहरुलाई विमानस्थलमा स्वागत गरिएको थियो ।

नेपाल पर्यटन बोर्डमा वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटकहरुलाई खादा तथा बुद्ध मुर्तीले स्वागत गरेका थिए  ।

विश्व पर्यटन दिवसकै अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले सबैभन्दा बढि टिम्स काटट्ने पाँच वटा कम्पनीलाई सम्मान गरेको थियो भने ग्रामिण पर्यटन मञ्च (भिटोफ) ले गुल्मी, धादिङ र संखुवासभाका तीनवटा होमस्टेलाई ३ वटा होमस्टेहरुलाएई पर्यटन गाउँ घोषणा गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?