१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिवले बुझे ३५ लाख दशैंभत्ता



धनगढी- सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि र उनीहरुका स्वकीय सचिवहरुले दशैंभत्ता लिएको भन्दै आलोचना भएपनि मुख्यमन्त्रीलाई ७१ हजार, छ जना मन्त्रीहरुलाई ६३ हजार र ४५ जना प्रदेशसभा सदस्यहरुलाई ५६ हाजर ५ सय दशैंभत्ता बुझेका हुन् ।

प्रदेशसभा सचिवालयले प्रदेश सांसदलगायत पदाधिकारीहरुलाई दशैँंभत्ता बापत २६ लाख १८ हजार ५ सय भुक्तानी गरिएको सुदूरपश्चिम प्रदेश सचिवालयका लेखा अधिकृत हरी जोशीले बताए । मुख्यमन्त्री र मन्त्रीहरुका स्वकीय सचिवहरुलेसमेत दशैँभत्ता बुझेका छन् । सुदूरपश्चिममा मुख्यमन्त्रीसहित सातजना मन्त्री र राजनीतिक नियुक्ति पाएका उनीहरुका १४ जना स्वकीय सचिवहरु रहेका छन् ।

यसैबीच मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कोरोना महामारीको अवस्थालाई मध्येनजर गरी आफूले पाएको दशैँभत्ता फिर्ता गर्ने बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले पनि भत्ता फिर्ता गर्ने र अन्य काग्रेसका प्रदेश सभा सदस्यहरुलाई पनि फिर्ता गर्न आग्रह गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !