६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

११ दिनको रस्साकसीपछि बल्ल बालुवाटार गए प्रचण्ड



काठमाडौं- सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न प्रचण्ड शनिबार दिउँसो बालुवाटार पुगेका हुन् । गएको कात्तिक ४ पछि ओली-प्रचण्ड बीच सम्वाद रोकिएको थियो । यो बीचमा प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु खुमलटार पुगेपनि प्रचण्ड सम्वादमा बस्न मानिरहेका थिएनन् ।

शुक्रबार मात्रै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली खुमलटार पुगेका थिए । त्यसअघि महाचिव बिष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए । तर, प्रचण्डले आफू कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेकाले बालुवाटार नजाने बताउँदै आएका थिए ।

मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, माओवादी कोटाबाट कर्णालीका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही विरुद्ध अविश्वास प्रस्ताव तयार लगायत निर्णयबाट प्रचण्ड ओलीसँग रिसाएका थिए । लगातार ओलीले वार्तामा बस्न आग्रह गरेपछि प्रचण्ड शनिबार अर्का अध्यक्षसँग भेटका लागि बालुवाटार पुगेका छन् । बालुवाटार जानु अगाडि प्रचण्डले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !