६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

कोरोना लाग्नेलाई पीडा, तर नलागेकालाई खेलाँची



यलु जोशी

काठमाडौँ- नेपाली कलाकारहरूले कोरोना भाइरस (कोभिड–१९) खेलाची गर्ने रोग नभएको बताउनुभएको छ । कोरोना सङ्क्रमणबाट पीडित बन्नुभएका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफै सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिनुभएको छ ।

कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भन्नुभयो, “यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुन्छ । त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट बचाउन सक्ने सम्पूर्ण उपाय अपनाउनुपर्छ ।” दुई साता घरमै एकान्तबास बसेर सङ्क्रमणमुक्त भएपछि उहाँले सबैलाई सचेत भएर बस्न आग्रह गर्नुभएको छ ।

आचार्यले भन्नुभयो, “कोरोनालाई कतिपयले हल्का विषय बनाएका छन्, यसमा हामी एकदमै गम्भीर बन्नुपर्छ । सचेत रहेर आफ्नो दैनिकी अगाडि बढाउनुपर्छ, १४ दिनको एकान्तबासले धेरै कुरा सिकायो भने पीडा के हो भन्ने पनि बुझायो ।”

कलाकार तथा नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा घरमा एकान्तबासका साथै अस्पतालमा समेत उपचारका लािग बस्नुपरेको सम्झँदै भन्नुहुन्छ, “थुप्रै पीडाका बीच मैले कोरोना जितेको हो ।” उहाँले भन्नुभयो, “मैले हरेक दिन कोरोनासँग लडिरहेँ । अनेक दुःख र कष्टबीच कोरोनासँगको सङ्घर्षमा हार मानिनँ । यसबीचमा मैले भोगेका कष्टप्रद क्षण अनगन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर सङ्घर्ष गरेर जितेँ ।”

यसैगरी हास्य कलाकार मनोज गजुरेलले कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभयो । आफ्नै घरमा एकान्तबास बसिरहनुभएका गजुरेलले कडा खालका कुनै लक्षण नदेखिए पनि मानसिक तनाव भएको स्वीकार गर्नुभयो । सङ्क्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा अपनाउँदै पनि कोरोना जुनसुकै बेला, जसलाई पनि लाग्न सक्ने भएकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो । कोरोनाबाट मुक्त हुन ध्यान केन्द्रित गरेको र घरेलु उपचारले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मनलाई बहलाउने कार्यमा लागेको अनुभव सुनाउँदै उहाँले आफू सचेत रहन, अरूलाई सुरक्षित रहन तथा सङ्क्रमण देखिहालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन सुझाव दिनुभयो ।

अर्का हास्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’लाई पनि कोरोना सङ्क्रमण भएको र यो रोगसँग लड्दै बिस्तारै निको हुन लागेको बताउनुभयो । हास्य शृङ्खला जिरे खुर्सानीमा भोक लाग्यो पात्रको अभिनय गर्दै आउनुभएका पराजुलीले सामाजिक सञ्जालमा कोरोनाले माया गर्दा र कोरोनाबाट विछोड हुँदाको अवस्थाको भनेर तस्बिर सेयर गर्नुभएको छ ।

नेपाली हास्य टेलिशृङ्खला ‘भद्रगोल’ का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’ लाई कोरोना सङ्क्रमण भएको छ भने गायक खेम सेन्चुरी कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । हल्का ज्वरो आउने, रुघाखोकी लाग्ने भएपछि पीसीआर परीक्षण गराएको जानकारी दिँदै उहाँले रिपोर्ट पोजेटिभ आएपछि घरमै एकान्तबासमा बसेको जानकारी दिनुभयो । घरमै बसेर तातोपानी पिउने, व्यायाम गर्ने तथा खानपिनमा बढी ध्यान दिन थालेपछि सङ्क्रमणमुक्त भएको उहाँको अनुभव छ ।

तातोपानी, बेसारपानी, दालचिनी पानी, सुप र तितेपातीलगायत थप भिटामिन तथा फलफूल खाएको जानकारी उहाँले दिनुभयो । मानसिक तनाव धेरै हुने भएकाले मेडिटेसन तथा मन र दिमागलाई आनन्द हुने सङ्गीत सुनेको पनि जानकारी दिँदै उहाँले सचेत भएर सुरक्षित बस्दा कोरोना बाहिर हल्ला फैलिएजस्तो नरहेको अनुभव सुनाउनुभयो । गायक तथा सङ्गीतकार टङ्क बुढाथोकी भदौ महिनामा सङ्क्रमित हुनुभएको थियो । घरमै एकान्तबास बस्नुभएका बुढाथोकीले घरेलु उपचार पद्धति अपनाएका कारण सङ्क्रमणमुक्त भएको जानकारी दिनुभयो । –आजको गोरखापत्रबाट साभार


प्रतिक्रिया दिनुहोस !